प्युठानमा कृष्णध्वज खड्काले पाए नेकपाको टिकट

 

४ माघ, काठमाडौं

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्युठानको प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार कृष्णध्वज खड्कालाई बनाएको छ ।

यसअघि साविक एकीकृत समाजवादीका भोजविक्रम बुढालाई उम्मेदवार बनाउने निर्णय भए पनि उनलाई पछि हटाएर साविक माओवादीका खड्कालाई टिकट दिइएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य खड्काले नेपाली कम्युनिस्ट पार्टीबाट प्युठानका लागि प्रतिनिधि सभा निर्वाचनको टिकट पाएको बताए । उनले भने, ‘टिकट मैले पाएँ, मनोनयन दर्ताका लागि प्युठान जाने तयारीमा छु ।’

२१ फागुनमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ता यही माघ ६ गते हुँदैछ ।

साविक माओवादीका खड्काले प्युठानमा टिकट पाएसँगै दाङ क्षेत्र नम्बर १ मा साविक एकीकृत समाजवादीका मेटमणि चौधरीको टिकट पक्का भएको स्रोत बताउँछ ।

यसअघि प्युठान र दाङ १ दुवै निर्वाचन क्षेत्रमा कमजोर जनाधार भएको एकीकृत समाजवादीका नेतालाई टिकट दिइएको भन्दै पार्टीका नेताहरुले नै विरोध जनाएका थिए ।

दाङ–१ मा नेकपाबाटै साविक माओवादीका कुलप्रसाद केसी सोनामले समेत उम्मेदवारी दिने घोषणा गरेका छन् । रोल्पा घर भएका लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले दाङ–१ मा आफूलाई टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation