
४ जेठ, काठमाडौं
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।
नेपाल, अमेरिका र स्कटल्याण्डबीच जारी शृङ्खलामा हालसम्म तीन खेल सम्पन्न भइसकेका छन् । स्कटल्याण्डले आफ्ना दुवै खेल जित्दै उत्कृष्ट लय कायम राखेको छ । पहिलो खेलमा नेपाललाई डकवर्थ लुइस (डीएलएस) नियमका आधारमा दुई रनले हराएको स्कटल्याण्डले अमेरिकालाई पनि सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।
यता, गत शनिबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई नौ विकेटले हराउँदै आत्मविश्वास बढाएको छ । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवित राख्न चाहन्छ ।
हाल नेपाल आईसीसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा सातौँ स्थानमा रहेको छ । २६ खेल खेलेको नेपालले नौ जित, १५ हार र दुई खेल अनिर्णित हुँदा २० अङ्क जोडेको छ । विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउन नेपालले बाँकी सबै १० खेल जित्नुपर्ने अवस्था छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ भित्र रहन आवश्यक छ ।
यता, स्कटल्याण्ड ३० खेलबाट १६ जित, आठ हार र छ खेल अनिर्णितसहित ३८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । त्यसैले आजको खेल नेपालका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ ।
















