दार्चुलामा प्रधानाध्यापक मृत भेटिएको घटनामा ८ जना पक्राउ

 

६ जेठ, दार्चुला

ब्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक मृत भेटिएको घटनामा ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानाध्यापक बलदेव सिंह धामी सोमबार बिहान विद्यालयमै मृत भेटिएका थिए ।

आत्महत्या दुरुत्साहन मुद्दामा विद्यालयका शिक्षकसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमराज भट्टका अनुसार मृत्युपहिले सोमबार नै प्रधानाध्यापक धामीले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा नाम उल्लेख गरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

मालिकार्जुन गाउँपालिका–२ भगवतीका ४६ वर्षीय प्रधानाध्यापक धामीको मृत्यु प्रकरणमा ज्यानसम्बन्धी कसुरअन्तर्गत ‘आत्महत्या दुरुत्साहन’ मुद्दामा अनुसन्धान अघि बढाइएको उनले बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई जिल्ला अदालत दार्चुलाबाट १० दिन हिरासतमा राख्न अनुमति लिएर अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा मृतक प्रधानाध्यापक धामीले स्टाटसमा नाम उल्लेख गरेका व्यक्तिहरु रहेका छन् । उनले सम्पाल माविका शिक्षक विक्रमसिंह कुबर, दलिदत्त भट्ट, खिमानन्द भट्ट, पदमराज भट्ट, हरिदत्त भट्ट, आवि दम्फाका प्रधानाध्यापक प्रमान्नद भट्ट, विद्यालय भवन निर्माण गर्ने ठेकेदार खेमराज भट्ट र ब्यास गाउँपालिका–४ का स्थानीय नरेन्द्र भट्टलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

मृतक प्रधानाध्यापक धामीले स्टाटसमा आफूलाई बलात्कार, भ्रष्टाचारलगायतका झुट्टा आरोप लगाएर योजनाबद्ध रूपमा फसाउन खोजिएको उल्लेख गरेका छन् । धामी २०७७ देखि सम्पाल मावि सुन्सेरामा प्रधानाध्यापकको रुपमा कार्यरत थिए । उनको शव जिल्ला अस्पताल दार्चुलामा पोस्टमार्टम गरी मंगलबार अन्त्येष्टि गरिएको छ ।

विद्यालयमा ‘पेन डाउन’ कार्यक्रम घोषणा

सम्पाल माध्यमिक विद्यालय सुन्सेराका प्रधानाध्यापक बलदेव सिंह धामीको मृत्यु प्रकरणलाई लिएर दार्चुलाको शैक्षिक क्षेत्र आन्दोलित बनेको छ । प्रधानाध्यापक संघ नेपाल दार्चुला र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दार्चुलाले प्रमुख जिल्ला अधिकारीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

संघले घटनाको उच्चस्तरीय, निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन् ।

प्रधानाध्यापक संघ नेपाल दार्चुलाले जिल्लाका नौवटै स्थानीय तहमा सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्दै ‘पेन डाउन’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । प्रशासनले घटनालाई गम्भीरतापूर्वक नलिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।

प्याब्सन दार्चुलाले पनि जेठ ६ गते जिल्लाभरका निजी तथा आवासीय विद्यालयमा पठनपाठन बन्द गर्दै ‘पेन डाउन’ कार्यक्रममा ऐक्यबद्धता जनाएको छ ।

ब्यास गाउँपालिकामा सार्वजनिक बिदा

ब्यास गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापकको निधनमा मंगलबार ब्यास गाउँपालिकामा शोक बिदा दिएको छ । सोमबार बिहान विद्यालयमै मृत भेटिएका प्रधानाध्यापक बलदेव सिंह धामीको निधनको शोकमा ब्यास गाउँपालिकाभरि आज एकदिन शोक बिदा रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूले जानकारी दिए ।

गाउँ शिक्षा समितिका सदस्यसमेत रहेका प्रधानाध्यापक धामीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शिक्षा क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation