एसईई उत्तीर्ण सदस्यहरुलाई सर्वोदय बाल क्लबद्वारा बधाई

१० जेठ, घोराही

सर्वोदय बाल क्लब घोराहीले यस वर्षको एसईई परीक्षा उत्तीर्ण आफ्ना सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुका साथै एक दिने बालशिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

​क्लबका कार्यवाहक अध्यक्ष अंशु सेढाईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पतन्जली योग समिति लुम्बिनी प्रदेशका सहप्रभारी शारदा पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो भने बाल संस्कार शिक्षाका प्रशिक्षक प्रकाश खनालले सहभागीहरुलाई विशेष प्रशिक्षण दिनुभएको थियो।

​कार्यक्रममा बोल्दै प्रमुख अतिथि शारदा पोख्रेलले विद्यार्थीहरूका लागि केवल किताबी ज्ञान मात्र पर्याप्त नहुने कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो:

​”एसईई उत्तीर्ण हुनु सफलताको एउटा खुड्किलो मात्र हो। असल र सफल नागरिक बन्नका लागि शिक्षासँगै संस्कार, योग र सकारात्मक जीवनशैलीको ठूलो भूमिका हुन्छ। बाल्यकालदेखि नै नैतिक मूल्य र मान्यता सिकाउन सके मात्र भोलिको समाज समृद्ध बन्न सक्छ।”

​उहाँले बाल क्लबले आयोजना गरेको यस किसिमको रचनात्मक कार्यक्रमले बालबालिकाको चौतर्फी विकासमा मद्दत पुर्‍याउने भन्दै उत्तीर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिनुभयो।

​कार्यक्रमका मुख्य प्रशिक्षक तथा बाल संस्कार शिक्षाका विज्ञ प्रकाश खनालले सहभागी बालबालिकाहरूलाई संस्कार, अनुशासन र समय व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले भन्नुभयो:

​”अहिलेको डिजिटल युगमा बालबालिकाहरूलाई कुलत र नकारात्मकताबाट जोगाउन बाल संस्कार शिक्षा अपरिहार्य भइसकेको छ। आफ्नो संस्कृति, आमाबुबाप्रतिको आदर र समाजप्रतिको उत्तरदायित्व बुझ्ने विद्यार्थी नै वास्तविक रूपमा शिक्षित हुन्छन्।”

​कार्यक्रममा सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, बयलडाँडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाल, सिद्वार्थ गौतम टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्य, क्लबका सल्लाहकार नवीन श्रेष्ठका साथै पत्रकारद्वय नरेन्द्र केसी र गोविन्द खडका लगायतको आतिथ्यता रहेको थियो। अतिथिहरूले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राको सफलताको कामना गर्नुभएको थियो। कार्यक्रममा सम्मानित विद्यार्थीको तर्फबाट अदिती केसीले बोल्नुभएको थियो भने विद्यार्थीहरुले कविता वाचन गरेका थिए।

​क्लबका सदस्य जेनिश आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन सहसचिव सौम्य आचार्यले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation