
पोखरास्थित फिर्केखोला आसपास निर्मित अवैध संरचनाहरू हटाउन आज बिहानदेखि डोजर परिचालन गरिएको छ । फेवातालको मुहानका रूपमा रहेको फिर्केखोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्नेक्रममा महानगरपालिकाले यो कदम चालेको हो । यसअघि महानगरले सार्वजनिक सूचना जारी गर्दै ३५ दिने अल्टिमेटम दिएको थियो ।
वर्षायाममा बाढी तथा डुबानको जोखिम बढ्दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाले २०८० साउनमा फिर्केखोलाको वास्तविक मापदण्ड यकिन गर्न प्राविधिक नापजाँच गरेको थियो । सो अध्ययनका क्रममा ८ किलोमिटर लामो यस खोलाको बहाव क्षेत्र र मापदण्डभित्र १६० भन्दा बढी अवैध संरचनाहरू निर्माण भएको तथ्य फेला परेको थियो ।
प्रतिवेदनअनुसार ती संरचनाहरूमध्ये ९७ वटा व्यक्तिगत अस्थायी घरहरू छन् भने बाँकी स्थायी संरचना रहेका छन् । अतिक्रमित संरचनाहरूमा केही विद्यालय, विभिन्न टोल तथा जातीय संगठनका समाज घरहरू, लायन्स क्लब अफ फिस्टेल सिटीको भवन र वडा नम्बर १७ स्थित गाईघाटमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ) को तालिम केन्द्रको भवनसमेत पर्दछन् ।
महानगरपालिकाले गत वैशाख ४ गते सार्वजनिक सूचना जारी गर्दै मापदण्डभित्रका संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन आह्वान गरेको थियो । सूचनाको अवज्ञा भएपछि महानगरले आईतवार बिहानैदेखि फिर्केखोलाका तीन फरक स्थानबाट डोजर चलाएर संरचना भत्काउन शुरु गरेको हो ।
















