महान् सहिद इच्छुककाे सम्झनामा ……

 हाे इच्छुक
तिमीले हाम्रो मुटुमा डेरा जमायाै 
तिमीले मुक्तिका गीत गायाै
तिमीले कवितामा सङ्घर्ष उचाल्याेै
हरवा, चरुवा, किसानका आवाजलाई
मादलकाे तालमा घन्कायाै
सुकुमबासी र हुकुमबासीका अन्तरलाई
कलमकाे मसाल बालेर
सामन्तवादीहरूका छाेतीमा झाेस्न सिकायाै
आफू मेटिएर भए पनि
शिर उठाएर बाँच्ने गाेरेटाे देखायाै
हाे इच्छुक !
तिमीले हाम्रो मन मुटुमा डेरा जमायाै ।
स्तब्ध छन् नख्खुकाे अँध्याराे काेठाबाट देखिने
चन्द्रागिरिका शान्त डाँडाहरू
जलजलाका रुख, बिरुवा र हिउका थुप्राहरू
स्तब्ध छन उजाडिएका बालिनाली
भत्काइएका गरिबका झुप्राहरू
निरंकुशताले पुछेका सिन्दुरहरू
कापीकलम खाेसिएका बालबालिकाहरू
स्तब्ध छन सङ्घर्ष, प्रतिराेध र विद्रोहमा उठेका मुठ्ठीहरू
तिमीलाई आश्रय दिने जेलका कालकाेठरीहरू
तिमीलाई आदर्श मान्ने युवा विद्यार्थीहरू
स्तब्ध छन् तिम्राे परिवार र तिम्रा दाैँतरीहरू
तिमीलाई देखेर, तिमीलाई पढेर,
तिमीलाई चिनेर, तिमीलाई सुनेर
जनयुद्धमा हाेमिएका ती वीर याेद्धाहरू
सायद स्तब्ध नै भयाे हाेला
प्रदर्शनीमार्गकाे त्याे मानव बधशाला
त्यसमा सलबलाउने
लास जस्ता जिउँदा आकृतिहरू
स्तब्ध नै हाेलान् बरबर यातना देख्न नसकेर
आँसु पुछ्दै
तिमीलाई हप्काउने ज्यामी सिपाहीहरू
जनआस्थाकाे त्याे समाचार पढ्ने सारा नेपालीहरू ।
महल ठडिएका छन, वाहन फेरिएका छन्
भिसा लागेकाे छ राहदानीमा विदेश भ्रमणकाे
खुसी छन् तिम्रै समीप रहेर पाेल लगाउनेहरू
तिमीलाई थुनाउने सुराकीहरू
खुसी छन् तिम्रो नाम भजाएर धन कमाउनेहरू
तिम्राे कलमदेखि तर्सने आत्तिनेहरू
पारिताेसिकले सजिएर
नीति बनाउन संसद भवन छिरिसके
नयाँ मुखियाका प्यादा बनेर
मानव बधशालाका तत्कालीन जल्लादहरू ।
सफल भयाे कि असफल
तिमीले अङ्गालेकाे समरकाे यात्रा
सफल भए कि असफल
तिमीलाई आदर्श मान्ने गरिब र निमुखा
जसका लागि बलिदान दियाै तिमीले
आफ्नाे अमूल्य जीवनकाे
बदलिएको छैन तिनकाे जीवनशैली
तिनका सङ्घर्ष, तिनका गाउँ बस्तीहरू ।
… … …
१३ जेठ २०८३, सानाेठिमी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation