
हरेक माता पिताले आफ्नो बच्चाको स्वास्थ राम्रो होस् भनेर नै विचार गर्छन र स्याहार गर्दछन्। तर अपशोच ! अहिले बच्चाले पत्रुखाना खाँदा समस्या परेको छ । “स्कूल जाने बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको कारण, ‘खराब’ बोसो हो । बिस्कुट, चाउचाउ दालमोठ, चिजबल्स, आलु चिप्स आदिमा खराब बोसो हुन्छ ।” बरिष्ठ चिकित्सक डा. प्रकाश राज रेग्मी भन्छन् । पहिले उनी ‘मुटुरोग’ लागेपछि औषधी गर्थे, अहिले मुटुरोग नै नलागोस भनेर बोल्छन् ।
‘खराब बोसो’ भन्ने कुरा बाहिरबाट हेर्दा कालो, फोहोर देखिने वस्तु होइन । ‘खराब बोसो’ भएका खानेकुरा शरीरभित्र गएपछि यसले बिस्तारै ‘शरीरलाई खोक्रो’ पार्दै लग्छ । खराब बोसो अर्थात ‘ट्रान्सफ्याट’ आज खाएर भोलि नै शरीरमा असर पर्दैन । धमिराले भित्र खाए झै यसले खराबी गर्छ । सबभन्दा दुःख त जनस्वास्थ्य विज्ञहरूलाई तब हुन्छ जब आमा बाले सन्तानलाई माया गरेर “ट्रान्सफ्याट” भएको वस्तु कोच्याउँछन् र थाहा नै नपाएर बच्चाको स्वास्थ्य खराब पार्न योगदान दिइरहेका हुन्छन् । शिशु र बालबालिकालाई माया गरेर चाउचाउ, चिप्स दिने मातापिताले बुझ्नपर्छ कि यस्तो पत्रु खानामा धेरै नुन, चिनी, बढी बोसो र रसायनहरू हालेको हुनाले तिनले स्वास्थ्यमा हानी गर्छ । यस्तो खाना खाएपछि लत लाग्छ । रक्सीको कुलत छोड्न नसकेझै पत्रु खानाको कुलत पनि छोड्न सक्दैनन् ।
केही अघि मुटुरोग विज्ञ डा. प्रेमराज वैद्यले “ट्रान्सफ्याट” भएका खानेकुराहरूले मुटुको धमनीलाई अस्वस्थ बनाउँछ, माशंपेशी कमजोर बनाउँछ, र ४० वर्षको उमेर नपुग्दै मधुमेह र मुटुको रोग दिन्छ, ट्रान्सुफ्याट (यसलाई ट्रान्सुफ्याटी एसिड पनि भनिन्छ) स्वास्थ्यको लागि अति नै हानिकारक चिल्लो पदार्थ हो । खानेकुरालाई लामो समय सुरक्षित राख्न, स्वाद बढाउन यो खराब बोसो प्रयोग गरिन्छ” भन्ने कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । पत्रु खानामा नराम्रो बोसो हुन्छ भन्ने कुरा दुई विशेषज्ञबाट सुनेपछि वास्तवमा “स्वास्थ मन्त्रालयले पनि कारखानामा बन्ने भोजनमा खराब बोसो कम गर्नु भनेर निर्देशन दिएको छ, तर कार्यान्वयन छैन ।
केहिअघि शिक्षा मन्त्रालय÷स्वास्थ्य मन्त्रालयले नै स्कूलमा ५ कक्षासम्म “दिवा खाजा दिँदा, पत्रु खाना नदिनुु” अर्थात ‘खराब बोसो’ भएको खाना बालबालिकालाई नदिनु भन्ने नीति पनि बनाएको छ। तर अपशोच त्यो पनि पूर्ण रुपमा पालन भएको छैन। अहिले पनि स्कूल छेउँछाउँमा “पत्रुखाना” किन्न सजिलै पाइन्छ । अस्पताल र स्वास्थ्य चौकीमा धमाधम ‘खराब बोसो’ भएको ‘पत्रुु’ खाना कर्मचारीले प्रयोग गर्छन् । अनि ‘अभिभावकलाई बच्चालाई पत्रुखाना’ नदिनु है भन्न त सकिन्न । बच्चाहरू सानैदेखि ‘खराब बोसो’ भएको खाना खाएर हुर्किन्छन् र कुपोषित हुन्छन् ।
त्यसैगरी ‘खराब बोसो भएको ‘कवाडी’ र ‘पत्रुु’ ‘जंक’ भोजनलाई स्वास्थ्य चौकी, अस्पताल र स्कुलबाट हटाउन सके पो हुन्छ नत्र त ‘खराब बोसो’ भएको खाना खाएर कसरी हाम्रा युवा–युवती “स्वस्थ मुटु, स्वस्थ मृगौला” लिएर हुर्केलान् त ? सानैदेखि यस्तो खानाको कुलत लागेपछि ३५–४० वर्षको उमेरमा मधुमेह, मुटुरोग भएपछि देश विकासमा उनीहरूले के योगदान देलान ?
पछिल्लो “दश वर्षमा नेपालमा १ खरब २९ अरब भन्दा बढीको पत्रुु खाना आयात” भएको सरकारी तथ्यांक भन्छ । ती सबै भोजन “खराब बोसो” मानै बनाइन्छन् यसरी एक खरबको “कवाडी खाना” ले भविष्यमा सयौँ खरबको नोक्सानी पुु¥याउँछ भन्ने कुरा सरकारले विचार गर्दैन ।
अहिले त ‘लोकप्रिय’ हुने धुनमा विभिन्न प्रदेशका सरकार मुटु, मृगौला बिग्रेकालाई सितैमा उपचार गर्ने, कुनै प्रदेशले फोक्सो, क्यान्सर आदिका बिरामीलाई दुई÷दुई लाख दिने नीति ल्याएका छन्। तर यस्तो समस्याहरु सकेसम्म कम होस् र बालबालिकाले “पोषणरहित पत्रु खाना” नखाउन भनेर कार्यक्रम भएको छैन । यस्तो “पत्रु खाना” को विज्ञापन सकेसम्म कम गर्ने, गलत विज्ञापन नगराउने र सरकारी कार्यक्रममा स्वस्थकर खाना खाने प्रेरणा दिने नीति नल्याएसम्म मुटु, मृगौलाका बिरामीहरू बढी नै रहने छन् । अनि सरकारको बजेटले कहिलेसम्म बिरामीलाई पैसा दिइरहने ? के यस्तो समस्या न्युनीकरण होस् भनेर सरकारले कुनै कदम चलाउन सक्दैनन ? पोलियो, भिटामीन ‘ए’ को बारेमा आम संचार द्धारा सरकारले कति प्रचार÷प्रसार गर्छ त्यसैगरी ‘जनस्वास्थ्य’ लाई ध्यानमा राखेर “खराब बोसो भएको, पत्रु खाना नखाने भनेर सरकारले प्रचार गर्न सक्छ ।
तर अपशोच, स्कूलका शिक्षकले नै केटाकेटीको अघि नै खाजामा “लौ त साहुुजी चाउचाउ छिटो बनाउ”, समोसा देउ, दुनोट देउ, भनेर भन्छन् । यी सबै खानामा धेरै नराम्रो बोसो हुन्छ, शिक्षकलाई थाहा छैन । समोसा र डोनट पकाउँदा एउटै तेल बारम्बार प्रयोग गरिन्छ, त्यो ‘खराब चिल्लो’ पदार्थ बन्छ, जिब्रोमा स्वाद त दिन्छ, तर मुटुको धमनीमा बोसो जमाउँछ , उनीहरूलाई थाहा छैन ।
दशका विभिन्न मन्त्रालय, नगरपालिका, गाँउपालिकाको मिटिङहरुमा खाजा राख्दा समोसा, सेतो पाउरोटी, बट्टाको जुस राख्छन्। कहिले–कहिले त “स्वस्थ पोषणको” कुरा गर्ने स्वास्थको कर्मचारीले समेत खाजामा पत्रु खाना खान्छन् । यसरी पत्रु खानाले बालबालिका र युवाहरुमा समस्या पर्छ ।
नेपाल सरकारले “स्वास्थ्य क्षेत्रमा” छुट्याउने करोडैको बजेट नसर्ने रोगको उपचार गर्नमा नै जान्छ । “स्कूल र अस्पताल” वरिपरी ‘कवाडी’ खाना बेच्न नदिने, उपभोक्तालाई जागरुक गराउने कार्यक्रम गर्ने र त्यस्तो नीति ल्याएर आम सञ्चारको माध्यमबाट जनतालाई जागरुक गराउने हो भने त ‘नसर्ने रोग’ को “समस्या जन्मने” सम्भावना हुन सक्छ ।
‘पत्रु खाना नखाने’ भनेर त तपाई भन्नु हुन्छ तर के खाने भनेर सिकाउनु हुन्न केही व्यत्तिले मलाई गनगन गर्छन् । त्यसैले मैले यो विषय अर्थात स्वस्थकर खाजा खाना के हो, कसरी बनाउने भन्ने लेख्न शुरुवात गरेकी छु ।
हाम्रो घरमा जे पाक्छ त्यही खाना खाने हो भने पत्रु खाना, खाजा खाने जरुरत नै पर्दैन। घरको खानामा प्रोटिन पुग्दैन त्यसैले ‘प्रोटिन’ भएको खाना खानुपर्छ भनेर कसरत गर्ने व्यक्तिहरूले ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर खान्छन् । तर यसले स्वास्थमा नकारात्मक असर पर्छ भनेर जनस्वास्थ विज्ञहरूले भनेका छन् । प्रोटिन शरीरलाई चाहिन्छ । प्रोटिनले शरीरको कोषिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्न मद्दत गर्छ । मानव शरीरको कुनै पनि अंग जस्तै मांसपेशी, हाड बन्न प्रोटिन चाहिन्छ नै कपाल र नङ पनि स्वस्थ राख्छ । त्यति मात्र होइन शरीरले धेरै प्रकारका आन्तरिक रस हार्मोन बनाउन शरिरमा प्रोटिन चाहिन्छ । अनेक सुक्ष्म तत्व जस्तो लौह तत्व, प्रोटिनको कमि भए आमा र भ्रुणमा नै रगतको कमि भएर बच्चा अस्वस्थ पैदा हुन सक्छ । त्यसैले नै प्रोटिनयुक्त भोजन खानु पर्छ । प्रोटिन हाम्रो भान्छाघरमा पाइने खानाबाट नै प्राप्त हुन्छ । यो साधारण कुरा नबुझेर “बाहिरबाट नै प्रोटिन किनेर खानुपर्छ” भनेर भ्रमपूर्ण प्रचार भइरहेको छ, तर स्वास्थ मन्त्रालय बोल्दैन ।
प्रोटिन कति चाहिन्छ ?
एक सामान्य वयस्क व्यक्तिलाई दैनिक तौलको प्रति किलोग्राम ०.८ ग्रामदेखि १ ग्राम प्रोटिन चाहिन्छ । यसबाहेक दैनिक व्यायाम गर्ने व्यक्ति, गर्भवती महिलाको लागि प्रति किलोग्राम केही बढी प्रोटिन चाहिन्छ । भान्छाको स्वस्थकर खानाबाट नै त्यो पुग्छ । प्रोटिन पाउन महंगो औषधी खानै पर्दैन । अण्डा र पनिरमा प्रोटिन र अन्य पोषक तत्व जस्तै क्याल्सियम, बी–१२ हुन्छ । मासु नखानेले पनि प्रोटिनका लागि दाल, बेसन, गेडागुडी, पनिर, तोफु, कोदो, फापर, जौ आदि मिलाएर खाँदा प्रोटीनको जरुरत पुग्छ ।
भोजनमा प्रोटिनको कमी भयो भने मान्छे दुब्लाउँदै जाने, बच्चाहरूमा सुकेनास र फुकेनासको समस्या हुन सक्छ । त्यसैगरी मधुमेह भएको व्यक्तिलाई प्रोटिन कमी हुँदा चिनीको मात्रा शरीरमा नियन्त्रण गर्न गाह«ो हुन्छ । लौह तत्वको साथै प्रोटिन कै कमी भएमा रक्तअल्पता हुन्छ । रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । प्रोटिनको धेरै कमी हुँदा जोर्नी समेत दुख्न सक्छ किनभने प्रोटिनले जोर्नीमा हुने तरल पदार्थको निर्माणमा भूमिका खेल्छ । प्रोटिन खाने भनेर जथाभावी धेरै खाँदा अनेक समस्या हुन सक्छ । समस्या भएकाहरूलाई त कति मात्रा प्रोटिन खाने भनेर स्वास्थकर्मी, पोषण विदसँग सल्लाह लिनैपर्छ ।
प्रोटिनको स्रोत
शाकाहारी भोजनमा पनि प्रोटिन पर्याप्त पाइन्छ । माछा, मासु, अण्डा आदि साथै शाकाहारी स्रोतहरूमा सोयाबिन, पनिर, दाल, गेडागुडी, ड्राइफ्रुट्स, दुध, फर्सीको बियाँ, तिल, आलस, गहुँ, चामल, कोदो, फापर, ब्रोकाउली लगायत पर्छन् । साथै सिमी प्रोटिन र रेशादार तत्वको निकै राम्रो स्रोत हो । पोषणविद् यसलाई प्रोटीनको ‘पावरहाउस’ पनि भन्छन् । सुकाइएको र हरियो सिमी सबैमा प्रोटिनको साथै पर्याप्त मात्रामा भिटामिन ए, सी, के र बी ६ पाइन्छ । एक कप उमालेको सिमीमा करिब ७ ग्राम प्रोटिन हुन्छ ।
साथै चना, मुँग, दाल उमार्दा पनि तिनमा प्रोटिन पाइन्छ । टुसा उमारेको गहुँ, चना, गेडागुडी जस्ता सस्ता र सहज तरिकाले पाइने प्रोटिनको स्रोत छोडेर बाहिरका ‘महंगा बट्टाहरूको प्रोटिन’ किन किन्नुको कुनै औचित्य छैन।
राम्रो पार्न पुर्खाको चलन अनुसार विभिन्न गेडागुडी र अन्नहरू मिसाएर बनाएको पिठोको लिटो, हलुवा आदि दिएमा प्रोटिनको साथै अन्य सुक्ष्म पौष्टिक तत्व पनि हुन्छ । सुत्केरी र गर्भवती आमाको लागि पनि चाहिने प्रोटिनयुक्त पौष्टिक तत्वहरू पनि घरेलु खाना बाट नै पाइन्छ । मासु वा खुट्टीको झोल, क्वाँटीको तरकारी, दाल आदिमा पाइने प्रोटिन उच्च स्तरको हुँदा भात, तरकारीसँग दाल मिश्रण गरेर खाँदा शरीरमा चाहिने अनेक खनिज तत्वहरू पाइन्छ । साथै दाल, गेडागुडीमा रहेको रेसादार तत्वको कारणले शरीरमा कब्जियत हुन दिँदैन, चिनीको मात्रा सन्तुलनमा राख्न मद्धत गर्छ अर्थात मधुमेह भएका व्यक्तिहरूको लागि पनि ठिक छ । यदि विभिन्न थरिका दालहरू मिसाएर खाइयो र त्यस माथि पनि गेडागुडी र टुसा उमारेर प्रयोग गरियो भने शाकाहारीहरूले पनि पर्याप्त प्रोटिन सजिलै पाउन मद्धत गर्छ ।
चनाको सातु घरमा बनाउन सकिने प्रोटिनले भरिपूर्ण भोजन हो । योे बच्चा, वयस्क, वृद्ध सबैलाई उत्तम हुन्छ । घरमा नै चना भुटेर त्यसलाई पिसेर पानीमा कागती र वीरे नुन हालेर खान सकिन्छ । त्यसैगरी चनाको सातुलाई दुधमा मिसाएर पनि खान सकिन्छ । तरकारी र दालमा हालेर पनि प्रयोग गर्न सकिन्छ । आजकल त बजारमा पनि सहजै चना ,जौँ को सात्तु किन्न पाइन्छ। त्यसैगरी बदाम पनि प्रोटिन युक्त एक उत्तम भोजन हो । प्रोटिन पाउनको लागि बदाम भुटेर पिठो बनाएर दुधमा हालेर खान सकिन्छ । काँचो बदाम उसिनेर पनि खान सकिन्छ । बदाम र चनाको सात्तु पनि मिसाएर अनेक तरिकाले खान सकिन्छ । तर भटमास वा बदाममा ‘एलर्जी’ छ भने प्रयोग नगर्ने सल्लाह दिइन्छ ।
कोदोको पिठोलाई भुटेर, हलुवा बनाएर दुधमा हालेर खान सकिन्छ । दुधमा पनि प्रोटिन पाइन्छ तर कति जनालाई दुध पचाउन गाह्रो हुन्छ । त्यसो हुँदा दहीमा प्रयोग गर्नु ठिक हुन्छ ।
त्यसैगरी प्रोटीन पाइने तरकारीहरू पालुंगो, बकुल्ला (हरियो र सुकेको) लाई तरकारी वा दालको मिश्रण गरेर खान सकिन्छ । त्यसैगरी रोटी बनाउँदा पनि अनेक अन्नहरूको मिश्रणको पिठो बनाएर हरियो तरकारीसँग खान सकिन्छ । वास्तवमा प्रोटिन पाइने खानेकुराहरू वरीपरी भएर पनि बालबालिकालाई प्रोटिनको कमि हुनुको कारण अभिभावकलाई जानकारी कम हुनु हो । यसको लागि हजुरआमाहरूको ज्ञान लिए अहिलेको शिशु, बालक, युवाहरूको भोजनमा प्रोटिन कमि हुन पाउँदैन ।
-प्राणमञ्च मासिक बाट