गाैमुखीमा परीक्षा समितिकाे चरम बदमासी, कसरी पास भए ८ नम्बर लिएका विद्यार्थी ?

१४ चैत, प्युठान

नेल्सन मण्डेलाले शिक्षाकाे गरिमालाई प्रष्ट्याउँदै भनेका छन् : “शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसकाे प्रयोगले विश्व बदल्न सक्छ ।” हुनपनि शिक्षा जीवनलाई उज्यालाे राजमार्गमा दाैडाउँदै सारा ज्ञान आर्जन गरेर आफ्नो जीवनसँगै समाज बदल्ने महत्त्वपूर्ण हतियार हाे । परीक्षा केन्द्रीत पढाइ हुने हाम्रो देशकाे शिक्षा नीतिले के हाम्रो जीवन साँचाे अर्थमा बदलेकाे छ ? हाम्रो शिक्षा नीति कस्ताे छ ? शिक्षा प्राप्ति गरेर समाज बदल्ने अभियानमा राज्यले कति जनशक्ति तयार गरेकाे छ ? यी प्रश्नहरुकाे उत्तर निकै जटिल छन् ।

देशकाे शिक्षा नीति, पाठ्यक्रमकाे विकास, पठनपाठन शैली र अन्तिम परीक्षासम्म पुग्दा हामीले माैजुदा ऐन कानुन र कार्यविधिलाई लत्याएका कैयौं दृष्टान्तहरु छन् । शिक्षा क्षेत्रमा राजनीतिकरण यतिसम्म घुसेकाे छ कि परीक्षा समितिमा बसेका कतिपय विद्यालयका प्रअले पालिकासँगकाे राजनीतिक सेटिङमा आफ्नाे अनुकूलतामा प्रश्नपत्र परीक्षा अगावै आउट गर्ने, परीक्षामा चिट चाेराउने, सम्बन्धित निकायमा पहुँच राखेर आफ्नो विद्यालयकाे नतिजा नै हेरफेर गरेर अनुत्तीर्ण विद्यार्थीलाई आफूखुसी नम्बर चढाएर पास गराई उत्कृष्ट विद्यार्थी पास गराएकाे भनि बधाई र पुरस्कार समेत थापिरहेका छन् । यसकाे पछिल्लो ज्वलन्त उदाहरण हाे गाैमुखी गाउँपालिका वडा नम्बर ५ मा रहेकाे जनसहयाेगी मावि र उक्त विद्यालयका प्रधानाध्यापक अमृतबहादुर केसी ।

हामीलाई प्राप्त जानकारी अनुसार पालिका स्तरीय परीक्षा समितिका सदस्य एवम् जनसहयाेगी माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका अमृतबहादुर केसीले गाउँपालिकाले लिएकाे कक्षा ५ र ८ काे परीक्षामा बदमासी गरेर आफ्नाे विद्यालयका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएका छन् । पालिकाकाे लेजरमा अनुत्तीर्ण ४ जना विद्यार्थीलाई पास गराउने अमृतकाे बदमासीलाई गाैमुखी गाउँपालिकाले अनुमाेदन गरेपछि निजले कम्प्युटर इन्ट्री गर्दा आफ्ना अनुत्तीर्ण विद्यार्थीलाई पास गराएर नतिजा सार्वजनिक गरे । १७ जना परीक्षामा सहभागी भएका साे विद्यालयका १५ जना विद्यार्थी पास भएको भनिएकाे छ ।
नेपाल शिक्षक संघकाे गाैमुखी गाउँपालिकाे अध्यक्ष रहेका अमृत केसी पालिका स्तरीय परीक्षा समितिका सदस्य र सिंगाे शिक्षा समितिमा दबदबा राख्ने पात्र हुन् ।
पालिका अध्यक्ष विष्णुकुमार गिरी, परीक्षा समितिका संयाेजक एवम् प्रमुख प्रशाशकीय अधिकृत, सदस्य सचिव एवम् शिक्षा शाखा प्रमुख दुर्गा सुवेदी लगायतसँग हामीले उत्पन्न बिबादकाे विषयमा बुझ्न खाेज्दा सबैले अमृतबहादुर केसीले गम्भीर गल्ती गरेकाे स्वीकारेका छन् ।

गाउँपालिकाका अध्यक्ष एवम् गाउँ शिक्षा समितिका प्रमुख समेत रहेका विष्णुकुमार गिरीले नतिजा प्रकाशनमा परीक्षा समितिबाट ठुलाे बदमासी भएको बताउँदै अनुत्तीर्ण विद्यार्थीलाई नम्बर थपेर पास गराउने परीक्षा समितिका सदस्यलाई कानुनी कारबाहीको दायरामा ल्याउन आफू प्रतिबद्ध भएकाे बताए । “हिजाे पास भयाे भनेर अविरमाला लगाएकाे विद्यार्थीलाई फेरि आज तिम्रो बच्चा ´फेल` भएको रहेछ वा तिमी त फेल भएका रहेछाै नानीबाबू ! भन्दा उनकाे मनाेविज्ञानमा पर्ने असर वा त्यसपछि हुन सक्ने अप्रिय घटनाकाे जिम्मेवार काे हुन्छ ?” भन्ने हाम्रो प्रश्नमा गिरीले उत्पन्न समस्याको उचित ढंगबाट हल खाेजिने, पास भए भनिएका विद्यार्थीलाई पुनः माैका परीक्षामा सहभागी बनाउने लगायतको निर्णय भएको बताए । पालिकाले नै त्यस्ताे नजिर किन स्थापित गरेकाे, के उक्त बदनियतले परीक्षा र समग्र नतिजाकाे वस्तुनिष्ठतामाथि नै प्रश्न चिन्ह खडा भएन त ? भन्ने हाम्रो प्रतिप्रश्नमा उनले सबै संवेदनशीलतालाई ख्याल गरेर थप निर्णय गरिने जिकिर गरे ।

सराेकारवालाहरु याे सब पालिकाकाे संरक्षण र अनुमाेदनमा मात्रै सम्भव हुने बताउँछन् ।

पालिका उपाध्यक्ष महावीर रानाले प्रारम्भिक चरणमा अमृतबहादुर केसीले नतिजा प्रकाशनमा बदमासी गरेकाे स्वीकार गरिसकेकाे बताए । उनले परीक्षाफल जस्ताे संवेदनशील विषयमा विद्यालयकाे प्रअ तथा परीक्षा समितिकाे सदस्य जस्ताे संवेदनशील पदमा बसेर नियाेजित ढंगले बदमासी गर्ने काम निन्दनीय भएको बताउँदै उनलाई नेपाल सरकारकाे माैजुदा ऐन नियमावली बमाेजिम कारबाहीको दायरामा ल्याउन जरुरी भएको बताए । शिक्षकले गरेकाे बदमासीलाई सिंगाे पालिकाले किन अनुमाेदन गरेकाे ? भन्ने हाम्रो प्रश्नमा उपाध्यक्ष रानाले भुलबस त्यसाे हुन गएकाे र गलत प्रक्रियामा पालिकाकाे अनुमाेदन नहुने बताए ।

बदमासी गर्नेलाई कानुनी कारबाहीकाे दायरामा ल्याउँछाैँ : प्रमुख प्रशासकीय अधिकृत 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पाैडेलले परीक्षालाई अमर्यादित गर्ने र नतिजामा बद्मासी गर्ने अधिकार कसैलाई नभएकोले अनधिकृत रुपमा विद्यार्थी पास गराएको भन्ने आफूले पनि सुन्नमा आएको कारण त्यस विषयमा सत्य तथ्य छानबिन गरी तुरुन्त कारबाहीको दायरामा ल्याउने प्रसङ्ग उल्लेख गरे । पालिका स्तरीय परीक्षा समितिका संयोजक समेत रहेका तुलसीराम पौडेलले परीक्षा सके लगत्तै काम विशेषले आफू जिल्ला बाहिर रहेकोले नतिजाको विषयमा मसिनरी बुझ्न नपाएको र आफू भर्खरै कार्यालयमा पुगेकाेेले यस विषयमा थप अध्ययन अनुसन्धान गरेर कारबाहीको विषय अगाडि बढाउने बताए । उनले साे नतिजा प्रकाशनकाे बदमासीमा पालिकाको कुनै पनि संलग्नता, संरक्षण र प्रतिरक्षा नरहेको स्पष्ट पार्दै त्यस्ता प्रकारका गलत उद्देश्य राख्ने हर कोही व्यक्तिलाई प्रचलित ऐन र कानुन बमोजिम कारबाहीको दायरामा ल्याइने र शैक्षिक गुणस्तर वृद्धिका लागि हरेक परीक्षा र परीक्षाफललाई जिम्मेवार, मर्यादित र वस्तुनिष्ठ बनाउन आफू तयार रहेको पनि हामीसँग जिकिर गरे ।

स्मरण रहाेस्: गतवर्ष महेन्द्र माध्यमिक विद्यालय पूजाका प्रधानाध्यापक रामकृष्ण पुरीलाई विद्यालय प्रशासनले परीक्षा मर्यादित नबनाएकाे आशंका गरेर २०८० सालको शैक्षिक सत्रमा विद्यालय प्रशासन असल ढङ्गले हाँक्न नसकेको आरोप लगाउँदै उनलाई अर्खा सरुवा गरिएको थियो । पालिकाको पूर्वाग्रहीपूर्ण त्याे सरुवाले आफ्नो शैक्षिक जीवनमा ठूलो चोट पुगेकाे बताउने पुरीलाई गौमुखी गाउँपालिका प्रशासनले जागरबाटै हात धुन बाध्य बनायो । उनले सोही विद्यालयमा २५ वर्षदेखि पठनपाठन गराएका थिए । यद्यपि उनको प्रशासनिक कार्यक्षमता र आर्थिक पारदर्शिताका विषयमा भने बेलाबखतमा विषयवस्तुहरू उठिराखेका थिए ।

पालिकाकाे शिक्षा शाखा प्रमुख दुर्गा सुवेदीसँग याे विषयमा हामीले प्रतिक्रिया लिन खाेज्दा सुरुमा विषयान्तर गर्न खाेजे । हामीले सबै तथ्य बताएपछि भने परीक्षा समितिका सदस्य अमृतबहादुर केसीले बदमासी गरेकाे, परीक्षा समितिबाट राजीनामा दिएकाे र साे प्रकारकाे गम्भीर गल्ती आगामी दिनमा नगरिने प्रतिबद्धता स्वयं अमृतबहादुर केसीबाट आएकाे र आफूहरु पनि निजलाई कानुनी कारबाहीको दायरामा ल्याउन लागिरहेको बताए ।

सामाजिक विकास समितिका संयाेजक बाेम बहादुर सुनारले परीक्षा समितिमै बसेर आफ्ना अनुत्तीर्ण विद्यार्थीलाई आफूखुसी नम्बर थपेर पास गराउने विषय गम्भीर अपराध भएकाेले साे काम गर्ने अमृत बहादुर केसीलाई प्रचलित ऐन कानुन अनुरुप कारबाहीको दायरामा ल्याउन र नतिजाकाे पुनः मूल्यांकन गर्न छानवीन समिति नै बनाउन जरुरी रहेकाे बताए ।

उता शिक्षा विकास तथा समन्वय इकाई प्युठानका प्रमुख दुर्गाबहादुर खड्काले परीक्षाकाे आचारसंहिता एवम् नतिजा प्रकाशनमा बदमासी गर्ने अधिकार कसैलाई नभएको र यदि त्यसाे गरेकाे पाइएमा १ लाख रुपैयाँ जरिवाना वा ६ महिनासम्म कैद सजायकाे व्यवस्था भएकाेले उत्पन्न समस्या उपर लिखित उजुरी हालेर साेही बमाेजिम कानुनी कारबाहीको दायरामा जानुपर्ने बताउँछन् ।

गौमुखी गाउँपालिका ४ को बाग्लीबाङमा रहेको जनजीवन आधारभूत विद्यालयका नतिजा शून्य हुन पुग्यो । त्यसपछि आफ्ना विद्यार्थीहरुलाई पुनः परीक्षामा सहभागी बनाउने गरी पठनपाठनमा कस्सिएका विद्यालयका प्राधानाध्यापक विशाल रानाले आफूले सो नतिजालाई स्वीकारेको भएपनि कुनै विद्यार्थीले न्युनतम ८ नम्बर वा ११ नम्बर लिएकालाई उत्तीर्ण गराइएकाे तर कैयौं विद्यालयका विद्यार्थीले १४ नम्बर लिएर अनुतीर्ण बनाइनु ठुलाे विभेद भएको बताए । उनले याे विषयमा परीक्षा समिति र सिङ्गो पालिकाकै मिलेमताेमा खेल खेलिएकाे त हाेइन भन्ने गम्भीर प्रश्नचिन्ह खडा भएको बताउँदै यस्ताखाले बदमासीले समग्र परीक्षाकै वस्तुनिष्ठतामाथि शंका उत्पन्न भएको गुनासाे गरे । उनले विद्यार्थी, विद्यालय, अभिभावक र सिंगाे पालिकालाई बदनाम गर्ने उदेश्यले निहित स्वार्थमा लाग्ने स्वार्थ समूहकाे प्रभावमा सराेकारवाला निकाय पर्नु दुखद विषय भएकाे बताउँछन् ।

परीक्षाफल नै उलटपुलट गरेर आफ्ना विद्यार्थीलाई पाेस्ने र अन्य विद्यालयका विद्यार्थीलाई अनुत्तीर्ण देखाउने कुरा विभेद र अन्यायपूर्ण विषय भएकोले यसको उचित छानबिन गरेर संलग्न दोषीहरुलाई कानुनी कारबाहीकाे दायरामा ल्याउन जरुरी भएको विशाल रानाले बताए ।

प्राणमञ्चसँगकाे कुराकानीमा उनले परीक्षाको नतिजा प्रकाशनकाे सम्बन्धमा विगतदेखि नै विभिन्न प्रकारका अनियमितताका आशंका रहेपनि छानवीन र दाेषिउपर कारबाही नगरिनुले यसपटक थप समस्या उत्पन्न भएको जिकिर गर्छन् ।

के भएको थियाे खासमा ?

जाँचकले प्रदान गरेकाे प्राप्ताङ्ककाे “लेजर” र जनसहयाेगी माविका प्रअले आफूखुसी इन्ट्री गरेकाे विद्यार्थीकाे नतिजा

 

गाैमुखी गाउँपालिकाकाे कक्षा ८ र ५ काे अन्तिम नतिजा परीक्षा समितिले साेमबार सार्वजनिक गर्‍याे । पालिकाले प्रकाशन गरेकाे गाउँपालिका स्तरीय परीक्षामा कक्षा ५ का ४५. ५३ प्रतिशत विद्यार्थी उत्तिर्ण भए भने कक्षा ८ मा ३०.३ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भए । भृकुटी माविमा जाँच गरिएको साे विद्यालयकाे लेजरमा जम्मा ८ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । तर जनसहयाेगी माध्यमिक विद्यालयबाट सहभागी भएका १७ जनामध्येबाट १५ जनालाई उत्तीर्ण गराइएको छ । सो तथ्याङ्क हेर्दा पालिकाले नै १५ नम्बरसम्म आएकालाई पास गराउने भन्ने निर्णय गरेपछि थप ३ जना पास भएका छन् । यसरी पालिकाले उद्दार गरेकाे ३ जना विद्यार्थीसहित जम्मा उत्तीर्ण विद्यार्थीकाे संङ्ख्या ११ पुग्न जान्छ । उसाे त ५० अंककाे पुर्णाङ्कमा पास हुन १८ नम्बर लिन अनिवार्य छ । जुन कुरा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परीक्षा बाेर्डकाे स्पष्ट मापदण्ड हाे ।

तर ४ जना विद्यार्थीलाई जनसहयाेगी माध्यमिक विद्यालयका प्रधानध्यापक एवं परीक्षा समितिकै सदस्य समेत रहेका अमृतबहादुर केसीले सिंगाे पालिका र परीक्षा समितिलाई चक्मा दिएर आफ्नाे स्कुलका ४ जना विद्यार्थी राेल नम्बर १००३ र संकेत नम्बर २४, प्राप्ताङ्क ११, त्यस्तै राेल नंं. ९९० र संकेत २५, न्युनतम प्राप्ताङ्क ८, ९९८ राेल नं. र संकेत २७ काे प्राप्ताङ्क ११ छ भने १८७ राेल नम्बर र संकेत २८ रहेकाे विद्यार्थीकाे प्राप्ताङ्क १२ नम्बर मात्रै रहेकाे छ । गाउँपालिकाले कम्तिमा पनि १५ नम्बर नल्याउनेलाई पुनः परिक्षाकाे माैका दिनेगरी परीक्षा मापदण्ड निर्धारण गरेपनि उल्लेखित ४ जना मध्यकाे न्युनतम ८ अंक सहित ३ वटा समेत विषय लागेका विद्यार्थीलाई पालिकाकाे नतिजा प्रविष्ट गर्दा अमृतबहादुरले मनाेमानी ढंगले पास गराएकाे देखिन्छ । यसरी एउटा विद्यालयकाे शिक्षकले बदमासी गरेर सिंगाे पालिका, सम्बन्धित विद्यालय र समग्र शैक्षिक क्षेत्रमै कालाे धब्बा पाेत्दा पनि पालिकाका जिम्मेवार निकायका पदाधिकारीहरु ढाकछाेपमा लाग्नु शैक्षिक क्षेत्रमा निकै दुखद विषय भएको राजनीतिक अभियन्ता एवम् समाज सुधारक ज्ञामुराम न्याैपाने बताउँछन् । उनले याे निकै संवेदनशील विषय भएकाेले छानवीन समिति बनाएर साे कार्यमा जाेडिएका व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताउँछन् ।

 के हुनसक्छ कानुनी कारबाही ?

 
संघीय शिक्षा ऐन २०२८ काे पछिल्लो संशोधन दफा १७ मा कापी परिक्षण र नतिजा प्रकाशनमा अनियमितता गरेकाे पाइएमा १ लाखसम्म जरिवाना तथा ६ महिना कैद सजायकाे व्यवस्था गरिएको छ । यसरी पालिकाेकाे शिक्षा नियमावली र संघीय शिक्षा ऐन हेर्दा जनसहयाेगी माविका प्रधानाध्यापक अमृत बहादुर केसीले नतिजा प्रकाशनमा गम्भीर अपराध गरेकाे देखिन्छ । उनले सिधै ४ जना विद्यार्थीलाई आफू परीक्षा समितिकाे सदस्य भएकाे दम्भ र घमण्डले चुलिएर साे प्रकारकाे अपराध गरेकाे कानुनका जानकारहरु दावी गर्छन् । यसाे त साे नतिजाकाे विषयमा व्यापक गडबडी भएको हुनसक्ने आँकलन गर्छन् अन्य सराेकारवालाहरु । विष्णुकामार गिरीले भनेअनुसार लेजरमा अनुत्तीर्णलाई कम्प्युटरमा उत्तीर्ण देखाएपछिकाे विवादमा उल्लेखित ४ जना विद्यार्थीलाई पुनः परीक्षामा ल्याउन मिल्ने कुनै कानुनी आधार देखिंदैन । शिक्षाविद् विद्यानाथ काेइराला अन्तिम नतिजामा पास गराइएकाे विद्यार्थीलाई पुनः ४/५ दिनपछि फेल गराउने कुरा पालिकाकाे अर्काे गम्भीर अपराध ठहर्ने बताउँछन् ।

त्यस्तै अर्का शैक्षिक अभियन्ता एवम् कुशल शैक्षिक प्रशासक घनश्याम पाण्डेले पालिकाले गरेको त्यो समग्र बदमासी एउटा हेडसरको पल्लामा दिने कुरा अनुचित भएको बताउँदै त्यस्तो गलत इन्ट्री हानेको कुरा थाहा पाउँदा पाउँदै पालिकाले किन त्यसलाई अनुमोदन गर्यो भन्ने गम्भीर प्रश्न खडा भएको बताउँछन् । उनले त्यसरी अनुतीर्ण भएको विद्यार्थीलाई आफूले नम्बर दिएर पास गराउनेलाई हदैसम्म कानुनी कारबाहीको दायरामा ल्याउन जरुरी भएपनि उत्तीर्ण भनिएका विद्यार्थीलाई पुन: परीक्षा गराउने सहमति भएको भए त्याे गाउँपालिकाकाे अर्को अपराध हुने कुरा बताउँछन् । उनले ८ नम्बरसम्म लिएर पास गराइएका विद्यार्थीहरूको पुनः परीक्षा गराएर “फेलपास” गराउनुभन्दा अन्य विद्यालयका विद्यार्थीलाई पनि ८ नम्बर सम्म प्राप्त गरेकालाई  पास गराउने सिंगाे पालिकाले निर्णय गरेर अगाडि जाँदा उपयुक्त हुने बताउँदै अन्यथा त्यसले ठूलो विवादको रुप लिने उनी स्वीकार्छन् । पास भनिएकाे विद्यार्थीलाई ४/५ दिनपछि फेल बनाइएको ४० वर्षे शैक्षिक यात्रामा कुनै नजिर नभएको हुनले बताए ।

त्यस्तै जनसहयोगी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं गौमुखी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका वरुणध्वज मल्लले विद्यार्थीको भविष्यसँग खेलवाड गरेर वास्तविक नतिजा हेरफेर गर्ने गम्भीर विषयमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाहीमा ल्याउन जरुरी रहेको बताउँछन् । उनले चन्दा उठाएर भर्खरै मात्र कक्षा ९ र १० चलाइएकाे विद्यालयको गरिमामा आँँच आउने काम कुनै पनि मानेमा स्वीकार्न नसकिने र यस्ताखाले हर्कत राेक्न विद्यालय व्यवस्थापन समितिमा पनि तत्काल छलफल गरिने र साे तहबाट गर्न सकिने कानुनी कारबाहीको मार्ग प्रसस्त गरिने प्राणमञ्चसँग बताए । उनले आफू अपराधिक मनाेवृत्तिबाट कसैगरी प्रभावित नहुने भएकाेले यस्ताे बदमासी कसैले पनि गर्न नहुने कुरा जिकिर गरे ।

निज अमृत बहादुरले हिजाे मात्रै परीक्षा समितिकाे समीक्षा बैठकमा गल्ती स्वीकारेर परीक्षा समितिबाट राजीनामा दिएकाे र आफूले पास गराएका विद्यार्थी लेजरमा फेल भएपछि पून माैका परीक्षामा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेकाे बुझिन्छ । याे सबै काम क-कसकाे मिलिभगतमा भएको हाे भनेर हामीले बुधबार साँझबाट निज प्रअसँग कुराकानीकाे प्रयास गर्दा उनले हाम्राे फाेन उठाएनन् । हामीले पठाएको म्यासेजकाे रिप्लाई नगरेका अमृतबहादुर अहिलेसम्म सम्पर्कबिहिन छन् । एउटा शिक्षककाे बदमासीले सिंगाे पालिकाे गरिमामा बद्नाम भएको र शिक्षण पेसाप्रति अविश्वसनीयता बढाएकाेमा शैक्षिक क्षेत्रका अगुवा र सम्पूर्ण शिक्षकहरु चिन्तित भएको बताउँछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation