
१० वैशाख, घोराही
आजको सन्दर्भमा लेनिन र उनका विचार बारे अंतरक्रिया कार्यक्रम घोराहिमा सम्पन्न भएको छ ।
कम्युनिस्ट आन्दोलनभित्र बढ्दै गएको विचलन र कम्युनिस्ट विचारमाथि भइरहेका पूंजीवादी आक्रमण दुबैका विरुद्ध सशक्त ढंगले उभिनका लागि लेनिनका विचारहरुको सान्दर्भिकता बढेर गएको आज भएको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
लेनिन स्मृति शतबार्षिकी समिति दाङद्वारा आयोजित “आजको सन्दर्भमा लेनिन र उनका विचारहरु” बिषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उक्त धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख वक्ता डा.अमर गिरीले पूंजीवादी, नव उदारवादका सबै कुरासँग सम्झौता गरेर कम्युनिस्ट या लेनिनवादी हुन नसकिने तर्क गर्दै आजको समयमा कम्युनिस्ट हुनका लागि लेनिनवादका सच्चाईहरुलाई इमान्दारीपूर्वक आत्मसात गर्नुपर्ने बताए। आज लेनिन र उनका विचारमाथि एकातिर बुर्जुवाहरुबाट र अर्कोतिर कम्युनिस्ट आन्दोलन भित्रैबाट आक्रमण भइरहेको चर्चा गर्दै उनले अगाडि भने-“कम्युनिस्ट भन्नेहरुकै माथिदेखि तलसम्मको जमात खन्चुवा भएको छ । उपभोक्तावाद र सुखवादले खर्लप्पै निलेको छ ।” उनले सबैखाले आक्रमण र विचलनका विरुद्ध सच्चा कम्युनिस्टहरु लेनिनवादका सार्वभौम सच्चाऐइहरुका पक्षमा दृढतापूर्वक उभिनुपर्ने पनि बताए।
त्यसैगरी अर्का बक्ता शशिधर भण्डारीले लेनिन सैद्धान्तिक, राजनीतिक, संगठनात्मक हिसाबले सक्षम र व्यवहारकुशल भएका कारण अक्टोबर क्रन्ति सफल भएको कुरा राख्दै चवन्न बर्षको उमेरसम्म बाँचेर संघर्षका सबै मोर्चाहरुमा सफल हुनु चानचुने कुरा नभएको कुरा व्यक्त गरे ।
अन्तरक्रियामा रक्तिम साँस्कृतिक परिवारका पूर्व अध्यक्ष नारायण योगी, लेनिन स्मृति शतबार्षीकी समिति दाङका सल्लाहकार लेखराज रेग्मी, सुशील गौतम, ने.क.पा.(माओवादी केन्द्र)का जिल्ला सचिब विश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, ने.क.पा.का केन्द्रीय सदस्य पाटन सी लगायतका व्यक्तिहरुले लेनिनको योगदान र उनका विचारको महत्त्वका बारेमा आ-आफ्ना भनाईहरु राखेका थिए।
कार्यक्रमको अध्यक्षता र सहजीकरण लेनिन स्मृति शतवार्षीकी समिति दाङका संयोजक प्रमोद धितालले गरेका थिए ।