पुँजीवादले निल्दै गरेको विश्व र मार्क्सवादको बढ्दो अपरिहार्यता

कार्ल हेनरिक मार्क्सको जन्म सन् १८१८ मे ५ तारिखका दिन जर्मनीको ट्रियर शहरमा भएको थियो । उनका पिता एक कानुन व्यवसायी थिए र यहूदी परिवारमा जन्मिएका मार्क्स पछि धर्म परिवर्तन गरेर प्रोटेस्टेन्ट बनेका थिए । मार्क्सले बोन र बर्लिन विश्वविद्यालयमा दर्शनशास्त्र, इतिहास र कानुनको अध्ययन गरेका थिए ।

उनको जीवनको अधिकांश समय राजनीतिक निर्वासन, आर्थिक सङ्घर्ष र लेखनमा बित्यो । उनी फ्रेडरिक एङ्गेल्ससँगको मित्रता र सहकार्यद्वारा प्रसिद्ध भए, जसको साथमा उनले विश्वविख्यात कृति “द कम्युनिष्ट म्यानिफेस्टो” (१८४८) लेखेका थिए । उनको अर्को गहिरो र विश्लेषणात्मक कृति हो “दास क्यापिटल” जसले पूँजीवादी व्यवस्थाको गहिरो आलोचना गर्दछ ।

मार्क्सको निधन सन् १८८३ मा लन्डनमा भयो, तर उनका विचारहरूले विश्वका कैयौँ क्रान्ति, आन्दोलन र वैचारिक धारालाई निर्देशित गरिरहेका छन् । उनको विचार भन्दा पर रहेर आजको वर्तमानको चर्चा निरर्थक हुन जान्छ ।

के हो मार्क्सवाद? अथवा, मार्क्सवादी दर्शन?

कार्ल मार्क्स एक महान चिन्तक थिए, जसले मानिस, समाज, इतिहास र अर्थतन्त्रलाई नयाँ तरिकाले बुझ्ने दृष्टिकोण दिएका थिए । उनी सन् १८१८ मा जर्मनीमा जन्मिएका थिए र जीवनभर गरिब, श्रमिक र शोषित मानिसहरूको पक्षमा कलम चलाउँदै, व्यवस्था परिवर्तनको विचार बोकेर बाँचिरहेका थिए । उनले दर्शन, इतिहास, राजनीति र अर्थशास्त्र पढे र लेखे, र आज पनि उनको विचारले संसारका लाखौँ मानिसलाई प्रेरणा दिइरहेको छ ।

संसारका सबै दार्शनिकहरूले दुनियाँको व्याख्या मात्रै गरिरहेको परिप्रेक्ष्यमा उनले पहिलो पटक नयाँ सोंच दिए, “संसारलाई बुझ्न मात्रै होइन, बदल्न पनि जरुरी छ ।” उनको विचार अनुसार समाजमा देखिने सबै समस्याहरू जस्तै गरिबी, अन्याय, असमानता, शोषण, यी सबैको मुख्य जड आर्थिक संरचना हो । अर्थात्, कसले के कति सम्पत्ति राखेको छ, कसको हातमा उत्पादनका साधन छन्, र को कसरी बाँचिरहेको छ भन्ने कुराहरूले नै समाजको स्वरूप निर्माण गर्दछ ।

उनको प्रमुख दर्शन ऐतिहासिक भौतिकवाद हो । यसको अर्थ हो, समाजको इतिहास हेर्दा हरेक चरणमा मानिसहरूको जीवनशैली, उत्पादन पद्धति र आपसी सम्बन्धले नै त्यस समयमा कस्तो व्यवस्था थियो भन्ने कुरा निर्धारण गर्छ । उनले भने, “हाम्रो इतिहास केवल राजाहरूको कथा होइन, यो त मेहनत गर्ने श्रमिक र उनीहरूलाई दबाउने शोषक वर्गबीचको संघर्षको कथा हो ।”

प्राचीन समयमा मानिसहरू मिलेर सिकार गर्थे, खेती गर्थे, सबैले बाँडीचुँडी खान्थे ।इतिहासको यो अवस्था ‘आदिम साम्यवाद’ थियो । पछि समाजमा काम बाँडिन थाल्यो, केही मानिस मालिक बने, केही दास बने । पछि सामन्तवाद आयो जहाँ जमिन्दारले जमिनमा गरिब किसानलाई काम लगाउँथे । अझ पछि पूँजीवाद आयो, जहाँ मालिकले कारखाना खोले, मजदुरहरूले श्रम बेच्न थाले । मार्क्सले पूँजीवादी समाजमा दुई मुख्य वर्ग हुन्छन् भने, बुर्जुवा अथवा मालिक वर्ग र प्रोलितारियात अथवा श्रमिक वर्ग ।

मालिकसँग सबै उत्पादनका साधन हुन्छन्, कारखाना, पैसा, मेसिन आदि । श्रमिकसँग केही हुँदैन, उसले केवल आफ्नो श्रम बेचेर पेट पाल्नुपर्छ । मालिकले श्रमिकलाई न्यून ज्याला तिर्छ, तर उसको श्रमबाट ठूलो नाफा कमाउँछ । यही नाफा कमाउने लोभकै कारण मालिकले श्रमिकको शोषण गर्छ । यसरी श्रमिक दिनभर काम गर्छ, तर ऊ गरिबै रहन्छ । मालिक अझ धनी बन्छ । यही असमानता र अन्यायले गर्दा श्रमिक वर्गमा वर्गीय चेतना आउँछ, उनीहरू बुझ्न थाल्छन् कि उनीहरू शोषणमा परेका छन् । तब उनीहरू एकजुट भएर क्रान्ति गर्छन् र नयाँ व्यवस्था ल्याउँछन् ।

यसरी श्रमिक वर्गले लँडेर ल्याउने नयाँ व्यवस्था समाजवाद हो जहाँ उत्पादनका साधन सबैको साझा हुन्छ, राज्य श्रमिकहरूको हुन्छ, सबैले बराबरी अवसर पाउँछन् । समाजवादबाट अगाडि बढेर साम्यवाद आउँछ जहाँ वर्ग नै हुँदैन, सबै बराबरी हुन्छन्, निजी सम्पत्ति हुँदैन, राज्यको जरुरत नै रहँदैन । यो मार्क्सको सपना थियो, वर्गविहीन, शोषणविहीन, स्वतन्त्र समाजको । आजका कम्युनिष्टहरूको लँडाइ यसमा केन्द्रित हुन जरूरी छ तर उनीहरू विचारबाट स्खलित भइसकेका छन् । नेपाल यो अवस्थाबाट पर छैन ।

मार्क्सले पूँजीवादको अर्को ठूलो दोषको रूपमा वस्तु विमोह (commodity fetishism) को कुरा गरेका छन् । पूँजीवादले बनाएका वस्तुहरू जस्तै मोबाइल, लुगा, गाडी आदिलाई मानिसले अत्यन्तै महत्व दिन्छन्, तर ती वस्तुहरू कसले, कति दुख गरेर बनायो त्यो कुरा बिर्सिन्छन् । श्रमिकको श्रम लुकेको हुन्छ, वस्तु पूजनीय हुन्छ । यसरी श्रमिक वस्तुबाट अलग हुन्छ । उसले आफूले बनाएको चिज उपभोग गर्न सक्दैन । उसले केवल काम गर्छ, पैसा पाउँछ, थाक्छ तर आफ्नो श्रमको सच्चा मूल्य कहिल्यै पाउँदैन । यही अवस्थालाई मार्क्सले श्रमको गतिकरण (alienation of labour) भनेका छन् ।

मार्क्सले समाजलाई दुई भागमा बाँडेका छन्: आधार (base) र अधिशक्ति (superstructure) । आधारमा अर्थतन्त्र पर्छ: कसको हातमा उत्पादनका साधन छन् भन्ने कुरा । अधिशक्तिमा धर्म, संस्कृति, शिक्षा, कानुन, राजनीति आदि पर्छन् । मार्क्स भन्छन् , जब समाजको आर्थिक आधार परिवर्तन हुन्छ, त्यसपछि संस्कृति, धर्म, राजनीति सबै परिवर्तन हुन्छ । त्यसैले समाज सुधारको लागि केवल धर्म प्रचार गर्नु, शिक्षा सुधार गर्नु, कानुन बनाउनु मात्र पर्याप्त छैन, उत्पादन प्रणाली र सम्पत्तिको स्वामित्व परिवर्तन गर्नुपर्छ । उदाहरणका लागि, जब समाज सामन्तवादी थियो, त्यस समयमा धर्मले भन्यो, राजा ईश्वरको प्रतिनिधि हो, गरिब हुनु पुण्य हो । तर जब पूँजीवादी समाज आयो, धर्म र शिक्षा पनि बदलियो, अब “व्यक्तिगत स्वतन्त्रता” भन्ने कुरा चल्न थाल्यो । यिनले पूँजीपतिलाई नै सही ठहर्यायो ।

मार्क्सले दर्शनको उद्देश्य केवल किताब लेख्नु, तर्क गर्नु नभई व्यवस्था परिवर्तन गर्नु हो भने । यसै कारण उनले भनेका हुन्, “दार्शनिकहरूले संसारको व्याख्या गरेका छन्, तर सवाल संसारलाई परिवर्तन गर्ने हो ।” त्यसैले मार्क्सवाद केवल विचार होइन, यो क्रियाशील एवम् गतिशील दर्शन हो । यसको आधारमा धेरै देशहरूमा क्रान्ति भए, रुसमा बोल्शेविक क्रान्ति, चीनमा माओवाद, क्यूबामा कास्त्रोको क्रान्ति आदि ।

नेपालमा पनि मार्क्सवादले गहिरो प्रभाव पारेको छ । वामपन्थी दलहरू, मजदुर आन्दोलन, किसान आन्दोलन, शैक्षिक आन्दोलन आदि सबैमा मार्क्सवादी सोच देखिन्छ । साहित्यमा पनि यथार्थपरक लेखन, श्रमिक जीवन, वर्गसंघर्ष आदि विषयहरू उठाइएको छ । तर नेपालको संविधानले समाजवादी व्यवस्थाको परिकल्पना गरेता पनि कैंयौ पटक कम्युनिष्ट पार्टीहरू सत्तामा पुगेका छन् तर समाजवादी चरित्रानुक राज्यव्यवस्था निर्माणमा कुनै पनि प्रयत्न गरेको पाइदैन ।

उनको दर्शनलाई निचोडका रूपमा प्रस्तुत गर्ने केही विचारहरू र तीनको व्याख्या हेरौं:

१. “मानिसलाई इतिहासदेखि टाढा राखियो भने उनीहरूमाथि सजिलै नियन्त्रण पाउन सकिन्छ ।”
यसले भनिरहेको छ कि जब मानिसहरूलाई आफ्नै विगत, पुर्खाहरूको संघर्ष, समाजको रूपान्तरणको प्रक्रिया र शोषणको इतिहासबाट टाढा राखिन्छ, उनीहरू असजग बन्छन् । इतिहास जान्ने व्यक्ति सवाल गर्छ, प्रतिवाद गर्छ, र प्रतिरोध गर्न थाल्छ । तर इतिहास नबुझ्ने व्यक्ति सजिलै विश्वास गर्छ, जुनसुकै शक्ति वा विचारमा । त्यसैले, ऐतिहासिक चेतनाको अभावले शोषणकारी प्रणालीलाई कायम राख्न मद्दत गर्छ ।

२. “जब पीडा भोग्नेहरूले सोच्न सुरु गर्दछन्, तब सोच्नेहरूले पीडा भोग्न सुरु गर्दछन् ।”
यो कथन सामाजिक क्रान्तिको आधार हो । जब सामान्य जनता, मजदुर, किसान जस्ता वर्गहरूले आफ्नो अवस्था बुझ्न थाल्छन् र सोच्न थाल्छन्, त्यतिबेला उनीहरू चेतनशील हुन्छन् । उनीहरूले शोषण चिन्न थाल्छन् र उठ्न थाल्छन् । तब सत्तामा बसेका ‘बुद्धिजीवी’, विश्लेषक वा निर्णयकर्ताहरूलाई चुनौती दिन थालिन्छ । त्यसैले, सोच्नेहरूलाई पीडा हुन थाल्छ किनभने पुरानो सत्ता हल्लिन थाल्छ ।

३. “एउटा अघाएको व्यक्तिले भोकको अर्थ बुझ्न सक्दैन ।”
यो भनाइ वर्गीय दूरीप्रतिको आलोचना हो । धनी वा सुविधासम्पन्न मानिसलाई गरिबको अवस्था बुझ्न गाह्रो हुन्छ । तिनीहरूको दृष्टिकोण केवल तर्क र आँकडामा सीमित हुन्छ, जुन अनुभूति बिहीन हुन्छ । त्यसैले मार्क्सले विश्लेषणभन्दा पनि अनुभवलाई प्राथमिकता दिनुपर्ने सन्देश दिन्छन् । सोच, निर्णय र नीति बनाउन चाहनेहरूले पहिलोपटक पीडितको अनुभव बुझ्नुपर्छ ।

४. “साम्यवादको सार एक वाक्यमा: सबै निजी सम्पतिको खारेज ।”
यो वाक्यलाई हेर्दा कठोर लाग्न सक्छ, तर यसको गहिरो आशय सम्पत्तिको निजी स्वामित्व होइन, त्यसको असमान वितरण विरुद्ध हो । मार्क्सले भनेका छन्, केही मानिसहरू सम्पूर्ण उत्पादन साधनको मालिक हुँदा, धेरैजसो श्रमिक वर्ग शोषणमा पर्छ । साम्यवादले यो असमानता अन्त्य गर्न खोज्छ, उत्पादनका साधन सबैको साझा स्वामित्वमा राखेर ।

५. “हाम्रो उद्देश्य संसारलाई बुझ्नु मात्र होइन, बदल्नु हो ।”
मार्क्सको दर्शन अध्ययनका लागि मात्र होइन, कार्यका लागि हो । ज्ञान, विश्लेषण, अध्यापन, यी सबै क्रियाहरू तब मात्र पूर्ण हुन्छन्, जब तिनले परिवर्तन ल्याउँछन् । यदि विचारले समाज परिवर्तन गर्न सकेन भने त्यो अधुरो रहन्छ । त्यसैले मार्क्सवाद एक सक्रिय दर्शन हो, जसको अन्तिम लक्ष्य सामाजिक रूपान्तरण हो ।

६. “विलासिता भनेको प्रकृतिका आवश्यकताको विरोध हो ।”
मार्क्सले भन्छन् कि विलासिता अर्थात् आवश्यकता भन्दा धेरै चाहनाहरू, प्राकृतिक सन्तुलनको विरुद्ध जान्छ । जहाँ मानिसको चाहना सीमित हुँदैन, त्यहाँ प्रकृतिमा दोहन बढ्छ । विलासिता अमीर वर्गको सन्देहास्पद आवश्यकता हो, जसले पर्यावरण विनाश गर्छ र गरिब वर्गको आवश्यकता छायामा पार्छ । त्यसैले, इच्छाको असन्तुलनलाई रोक्नुपर्छ ।

७. “बहादुरहरूले आफ्नो इतिहास आफै बनाउँछन् ।”
भाग्यमा विश्वास गरेर बस्ने होइन, चेतनशील भई संघर्ष गर्नेहरूले इतिहासको दिशा मोड्छन् भन्ने कुरा यो भनाइले गर्छ । मार्क्सको दृष्टिमा ‘भाग्य’ सत्ताको बनाएर थोपारिएको भ्रम हो । साँचो परिवर्तन त तब आउँछ जब मानिसहरू संगठित भएर आफ्नो अवस्था परिवर्तन गर्न अघि बढ्छन् । बहादुरहरू भनेका ती हुन्, जो स्थितिसँग सम्झौता नगरी प्रतिरोध गर्छन् ।

८. “मानसिक तनावको एकमात्र औषधि शारीरिक श्रम हो ।”
यसमा मार्क्सले मस्तिष्क र शरीरको समन्वयको कुरा गरेका छन् । पूँजीवादले मानिसलाई मानसिक श्रम र शारीरिक श्रममा विभाजन गर्छ, जहाँ मानसिक काम गर्नेहरू जीवनबाट टाढा हुन्छन्, शारीरिक काम गर्नेहरू शोषित । तर मार्क्सको विचारमा शरीर र मस्तिष्क मिलेर काम गर्दा मानिस पूर्ण हुन्छ, तनाव घट्छ, चेतना बढ्छ । त्यसैले, साँचो सन्तुलन श्रममै हुन्छ, जीवनसँग जोडिएको श्रममा ।

९. “मलाई पैसा मन पर्दैन किनभने यही नै लडाइँको एकमात्र कारण हो ।”
पैसा, केवल विनिमयको माध्यम होइन यो शक्ति, सम्पत्ति र शोषणको माध्यम बनेको छ । पूँजीवादमा पैसा कमाउने होडले नै श्रमिकको श्रम बेचिन्छ, प्रकृति विनाश हुन्छ, युद्ध हुन्छ, र मनुष्य–मनुष्यबीचको सम्बन्ध व्यापारमा बदलिन्छ । त्यसैले, सबै सामाजिक समस्याको मूलमा आर्थिक असमानता र पैसाको भूमिकालाई मार्क्सले दोष दिएका छन् ।

निस्कर्षमा के भन्न सकिन्छ भने वर्तमान विश्वमा पुँजीवादी व्यवस्था जति हावी हुँदै गइरहेको छ, त्यो हेर्दा माक्सवादी विचारधाराको अपरिहार्यता झन् झन् बढ्दै गएको छ । विश्वव्यापी असमानता, श्रमिक शोषण, आर्थिक संकटकाल, युद्ध, तथा वातावरणीय विनाश जस्ता समस्याहरूको मूलमा पुँजीवादी व्यवस्था छ जसले नाफालाई मानवता र प्रकृतिभन्दा माथि राख्छ । यस्तो अवस्थामा, यी समस्याहरूको दीर्घकालीन समाधान माक्सवादी विचार र व्यवहारमा निहित छ ।

कतिपयले माक्सवाद अब सान्दर्भिक छैन भन्ने दाबी गरे तापनि, वास्तवमा त्यसको औचित्य झनै प्रगाढ र बलियो बन्दै गएको छ । माक्सवाद केवल वैचारिक विमर्शको विषय होइन, यो व्यवहारमा अभ्यास गर्नुपर्ने दर्शन हो जसले उत्पादनका साधनको सामूहिक स्वामित्व, सामाजिक न्याय, वर्गविहीन समाज, र प्रकृतिसँग सहअस्तित्वको बाटो देखाउँछ । यदि यो विचारलाई व्यवहारमा उतारिएन भने, पुँजीवादले सिर्जना गरिरहेको पर्यावरणीय संकट र सामाजिक द्वन्द्वले पृथ्वीलाई नै संकटमा पार्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation