
जर्मन दार्शनिक कार्ल मार्क्स जन्मिएको २ सय ६ वर्ष पुगेको छ । उनी जन्मिएको करिब १ सय वर्षपछि सन् १९१७ मा रुसी समाजवादी क्रान्ति सम्पन्न भयो । उनले दिएको विश्व दृष्टिकोणबाट नै संसारभर ठूलाठूला परिवर्तनकारी संघर्षहरू भए, कति देशमा सर्वहारा वर्गको जीत भयो, कतिपयमा अस्थायी हारको सामना गर्नुपर्यो ।
रुसी समाजवादी क्रान्ति सम्पन्न भएपछि पूर्वी युरोपका धेरै देशहरूमा समाजवादी क्रान्तिको लहर नै चल्यो । जर्मनी (पूर्वी र पश्चिमी) विभाजित बन्यो । कोरिया आज पनि विभाजित अवस्थामा नै छ । आज विश्वमा केवल ४ वटा देशमा कम्युनिस्ट शासन व्यवस्था छ ।
विश्वका दर्जनभन्दा बढी देशमा कम्युनिस्ट पार्टी सत्ताको लुछाचुँडीमा मस्त छन् । तिनै कार्ल मार्क्सको विचारले संसारभर क्रान्तिको आँधी नै ल्यायो । तर, जसको विचारले क्रान्ति भयो, आज त्यही विचार कतिको प्रासङ्गिक छ भनेर चर्चा हुन्छ ।
१९औँ शताब्दीमा जर्मन दार्शनिक कार्ल मार्क्सले धेरै लेखे । सर्वहारा वर्गीय विश्व दृष्टिकोणको निर्माणमा उनले एंगेल्ससँग मिलेर लेखेका २ कृति ‘कम्युनिस्ट घोषणापत्र’ र दास क्यापिटल’को महत्त्वपूर्ण भूमिका छ । यी कृतिले एक समय संसारका अधिकांश देश र अर्बौं जनतामा राजनीतिक र आर्थिक रूपमा निर्णायक असर पारे । रुसी क्रान्तिपछि सोभियत संघको उदय त्यसबेलाको एउटा उदाहरण थियो ।
रुसको अक्टोबर क्रान्तिपछि सन् १९१८ मा जर्मनी र फिनल्याण्डमा पुँजीवादी क्रान्ति सम्पन्न भयो । यसको प्रभावले अल्बानिया, हँगेरी, चेकोस्लाभाकिया, पोल्याण्ड, युगोस्लाभियामा क्रान्ति भयो । अष्ट्रिया, हँगेरी, पोल्याण्ड, जर्मनी, लातभिया, लिथुनिया, इस्टोनिया, अर्जेन्टिना जस्ता देशमा सशक्त कम्युनिस्ट पार्टीहरू निर्माण भए । यी बाहेक दर्जनौँ देशका करोडौँ जनता कम्युनिस्ट पार्टीमा गोलबन्द भए ।
२०औँ शताब्दीमा समाजवादी खेमाले पुँजीवादी विश्वलाई थर्कमान बनाएको थियो । तर, जसरी मार्क्स-एंगेल्सले लेखेका थिए, त्यसरी मार्क्सवादको गोरेटो अघि बढ्न सकेन । कम्युनिस्ट पार्टीभित्रै हुर्किएका गैरकम्युनिस्ट चरित्रले कम्युनिस्ट आन्दोलनलाई विघटनको दिशातिर लगे र पुँजीवादीहरूसँग आत्मसमर्पण गराए । अन्ततः समाजवादी खेमा शक्तिहीन र गतिहीन बन्न पुग्यो ।
विश्वमा पुनः पुँजीवादी दबदबा कायम भयो । समाजवादी-साम्यवादीहरूको आन्दोलन आज कुहिरोको काग जस्तै रुमल्लिन पुगे पनि कार्ल मार्क्सका विचारहरू आज पनि उत्तिकै ऐतिहासिक सान्दर्भिक छन् ।
राजनीतिक नीति तथा कार्यक्रम : ‘कम्युनिस्ट घोषणापत्र’ र आफ्ना लेखमा मार्क्सले पुँजीवादी समाजमा ‘वर्ग सङ्घर्ष ’को कुरा गरेका छन् । उनले कसरी अन्ततः सङ्घर्षमा सर्वहारा वर्गले पूरै संसारमा बुर्जुवा वर्गलाई सत्ताबाट हटाएर समाजवादी-साम्यवादी राजनीतिक व्यवस्था स्थापना गर्छन् भन्नेबारेमा उल्लेख गरेका छन् ।
आफ्नो प्रसिद्ध पुस्तक ‘दास क्यापिटल’ मा उनले आफ्ना यी विचारलाई तथ्यपरक र वैज्ञानिक तरिकाले विश्लेषण गरेका छन् । उनको प्रतिष्ठित जीवनी लेख्ने बेलायती लेखक फ्रान्सिस व्हिनले भनेका छन्, ‘मार्क्सले त्यो सर्वग्राही पुँजीवादका विरुद्ध दार्शनिक तरिकाले जुन तर्क अघि सारेका छन्, यसले पूरै मानव सभ्यतालाई आकर्षित गर्यो ।’
२०औँ शताब्दीमा मजदुरले रुस, चीन, क्युबा र अन्य देशमा जकडिएर रहेको सामन्ती राज्यसत्तलाई उखेलेर फाले र निजी सम्पत्ति र उत्पादनका साधनमाथि कब्जा जमाए । ब्रिटेनको स्कुल अफ इकोनोमिक्सका जर्मन इतिहासकार अलब्रेख्त रिसल भन्छन्, ‘मार्क्स भूमण्डलीकरणको पहिलो आलोचक थिए । उनले संसारमा बढ्दै गएको असमानताप्रति त्यतिबेलै सचेत पारेका थिए ।’
सन् १९३० मा देखिएको विश्व्यापी महामन्दी, सन् २००७-०८ मा देखिएको वैश्विक मन्दीले उनको त्यो भनाइलाई झनै सान्दर्भिक पारेको छ । त्यसपछि विश्वमा बढ्दै गएको धनी र गरिबबीचको खाडल र कोरोना महामारीका कारण विश्वमा सिर्जना हुने आर्थिक विशृङ्खलताले उनको भनाइलाई एक पटक फेरि सोच्न बाध्य पार्नेछ ।
पुँजीवादी संकट : पुँजीवादी अर्थ व्यवस्थाका पिता एडम स्मिथको ‘वेल्थ अफ नेसन’को ठीक उल्टो कार्ल मार्क्सले बजारलाई चलाउनमा कुनै अदृश्य शक्तिको भूमिका नहुने स्पष्ट पारेका थिए । उनले त्यतिबेलै आर्थिक मन्दी बारम्बार आउने र यसको कारण पुँजीवादमा निहीत रहेको बताएका थिए । मार्क्सले पुँजीवाद पूर्ण रूपमा समाप्त नभएसम्म यस्तो अवस्था कायमै रहने उल्लेख गरेका थिए ।
सन् १०२९ मा शेयर बजार उच्च दरमा ओरालो लाग्यो । त्यसपछि २००७-०८ मा यस्तै झड्का व्यहोर्नुपर्यो । त्यसबेला संसारभरको अर्थ व्यवस्थामा अभूतपूर्व सङ्कट आयो । त्यो सङ्कटको धेरै उद्योगमा भन्दा वित्तीय क्षेत्रमा अधिक असर पर्यो । भावी दिनमा यस्ता सङ्कट पुनः आइपर्ने निश्चित छ ।
अकुत मुनाफा र पुँजीको एकाधिकार :कार्ल मार्क्सको सिद्धान्तको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको ‘अतिरिक्त मूल्यको सिद्धान्त’ हो । यो त्यो सिद्धान्त हो, जुन एक मजदुरले आफ्नो मजदुरीको मूल्यभन्दा थप मूल्य पैदा गर्छ । मार्क्सका अनुसार उत्पादनका साधनका मालिकले यो अतिरिक्त मूल्य लिन्छन् र सर्वहारा वर्गको मूल्यमाथि आफ्नो मुनाफालाई अधिकभन्दा अधिक बढाउनमा लाग्छन् ।
यसरी पुँजी केही स्थान र केही व्यक्तिको हातमा केन्द्रित हुन्छ र यसका कारण बेरोजगारी बढ्नुका साथै मजदुरीमा गिरावट आउँछ । यो अवस्था आज पनि विद्यमान छ । त्यसमाथि पनि उत्पादनमा मेसिनको प्रयोगले विश्वव्यापी रूपमा मजदुरमाथि थप सङ्कट आइलागेको छ र बेरोजगारी बढ्दै गएको छ ।
‘द इकोनोमिस्ट’को हालैको एक विश्लेषणअनुसार पछिल्लो २ दशकमा अमेरिका जस्ता देशमा मजदुरको तलब स्थिर भएको छ भने सरकारी अधिकारीको तलब ४० देखि १ सय १० गुणासम्म वृद्धि भएको छ ।
भूमण्डलीकरणका र चरम असमानता : मार्क्सले भनेका छन्, ‘पुँजीवादले आफ्नो चिहान आफैँ खन्छ ।’ यो अचम्म लाग्न सक्छ किनकि मार्क्सको भनाइको उल्टो यतिबेला विश्वमा समाजवाद र साम्यवाद मरणासन्न अवस्थामा छ भने पुँजीवाद सर्वव्यापी बनेको छ । तर, यो क्षणिक हो ।
पेरिस विश्वविद्यालयमा दर्शनशास्त्रका प्राध्यापक तथा मार्क्सवादी विचारक ज्याक्स र्यान्सिउर भन्छन्, ‘क्रान्तिका कारण स्वतन्त्र भएका शोषित र गरिब मजदुरहरू भलै आत्महत्या गनुपर्ने अवस्थासम्म पुगे तर चीनको पैसाले नै अमेरिकी अर्थतन्त्र जिउँदो छ अन्यथा उनीहरूको अवस्था दयनीय हुने थियो ।’
मार्क्सले गरेको भविष्यवाणी भलै कतिपय समाजवादी-साम्यवादी खेमाभित्र लागू भएन । समाजवादी सत्ता चलाउनेहरूले गरेको गल्तीका कारण त्यहाँभित्र पुँजीवादी व्यवस्थामा जस्तै आर्थिक, सामाजिक विशृङ्खलता सिर्जना हुन पुग्यो । तर, मार्क्सले पुँजीवादी वैश्विक व्यवस्थाबारे गरेको आलोचनामा कुनै गल्ती गरेनन् ।
कम्युनिस्ट घोषणापत्रमा उनले पुँजीवादको वैश्वीकरण नै अन्तर्राष्ट्रिय अस्थिरताको मुख्य कारण बन्ने भविष्यवाणी गरेका छन् । २०औँ र २१औँ शताब्दीमा देखिएको विश्वव्यापी आर्थिक सङ्कटले उनको भविष्यवाणीलाई सही साबित गरेको छ । यही कारण हो भूमण्डलीकरणको समस्याबारे हाल रहेका बहसमा पटक पटक मार्क्सवादलाई उद्धृत गर्ने गरिन्छ । समाजशास्त्रमा ज्यादै प्रचलित रहेको ‘सोसल इन्जिनियरिङ’ उनकै विचारबाट प्रेरित छ ।
कार्ल मार्क्सका केही प्रसिद्ध र विश्व बदल्ने उद्घोषहरू छन्, जसले शताब्दीयौँदेखि विचार, आन्दोलन र क्रान्तिका स्रोत बनेका छन्-
1. “The history of all hitherto existing society is the history of class struggles.”
“अहिलेसम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो।”
– The Communist Manifesto
2. “Workers of the world, unite! You have nothing to lose but your chains.”
“संसारका श्रमिकहरू एक हौ! तिमीहरूसँग गुमाउने केही छैन-केवल तिमीहरूको जन्जिर।”
– The Communist Manifesto
3. “Philosophers have only interpreted the world, in various ways; the point, however, is to change it.”
“दार्शनिकहरूले विभिन्न तरिकाले संसारको व्याख्या गरेका छन्; तर कुरा के हो भने, संसारलाई परिवर्तन गर्नुपर्छ।”
– Theses on Feuerbach