
२१ असार, गजुल(रोल्पा)
जनज्योति माध्यमिक विद्यालय, गजुलले २०८१ सालको एसईई परीक्षामा उच्च उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित विशेष सम्मान प्रदान गरेको छ । विद्यालय तथा शिक्षकहरूको व्यक्तिगत र सामूहिक पहलमा आयोजित उक्त प्रेरणादायी कार्यक्रममा प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको हो ।
विद्यालयबाट ३.७६ जिपिए ल्याएर प्रथम स्थान हासिल गर्ने छात्र सन्तोष पुन, ३.७० जिपिए प्राप्त गर्ने अमृत थापा, र ३.६७ जिपिए ल्याउने दिवस सुवेदीलाई विद्यालयको तर्फबाट प्रमाणपत्रसहित जनही ५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ । यसका अतिरिक्त विद्यालयका शिक्षक श्री बालाराम खड्काले व्यक्तिगत रूपमा सन्तोष पुन र अमृत थापालाई जनही ५ हजार रुपैयाँ नगद प्रोत्साहन प्रदान गरेका हुन् । साथै सम्पूर्ण शिक्षकहरूको तर्फबाट मेधावी विद्यार्थीहरू सन्तोष पुन र अमृत थापालाई जनही १०,९३० रुपैयाँ पैसा नगद सहयोग स्वरूप प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि, सामाजिक विकास समितिका संयोजक तथा सुनिलस्मृति गाउँपालिका–६ का वडा अध्यक्ष श्री लोकेन्द्र बहादुर थापाले विद्यार्थीहरू राष्ट्रका भविष्य हुन् । उनीहरूलाई सानै उमेरदेखि मेहनतप्रति कदर गर्ने संस्कार र प्रोत्साहनको भावना आवश्यक हुन्छ । जनज्योति माविले देखाएको यो अनुकरणीय उदाहरणले अन्य विद्यालयहरूलाई पनि सकारात्मक सन्देश पुर्याउँछ । यसले विद्यार्थी मात्र होइन, अभिभावक र समुदायसमेतमा आशा र भरोसा जगाउँछ भने ।
कार्यक्रमका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री नरेश थापाले भने “हामीले देख्यौँ — विपन्नता सफलताको बाधा होइन । सन्तोष र अमृतजस्ता विद्यार्थीहरूले सीमित स्रोतसाधनमा पनि असाधारण उपलब्धि देखाएर हामी सबैलाई प्रेरणा दिएका छन् । शिक्षकहरूको व्यक्तिगत योगदानले हाम्रो शिक्षा प्रणालीमा संवेदनशीलता र मानवीयता थपेको छ । आगामी दिनमा यस्ता मेधावीहरूलाई अझ बलियो आधार दिन हामी थप योजनाबद्ध हुँदै जानेछौं ।”
कार्यक्रमका विशिष्ट अतिथि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष श्री हरि बहादुर कुँवरले विद्यालयको प्रगति र विद्यार्थीहरूको सफलतामा हार्दिक बधाई दिंदै, विद्यालय समुदायप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रमको सञ्चालन शिक्षक विनोद सुवेदीले गरेका थिए ।
२०८१ सालको एसईई परीक्षामा विद्यालयबाट ७९ जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ६५ जना सफल भएका छन् । तीमध्ये ३ जनाले A+ ग्रेड प्राप्त गरेका छन् ।
कार्यक्रममा सफल विद्यार्थीहरू तथा उनीहरूका अभिभावकलाई विशेष सम्मान, बधाई र शुभकामना प्रदान गरिएको थियो । विद्यालयले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा नयाँ ऊर्जा र आत्मबल थप्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा यस्ता प्रेरणादायी प्रयासलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।