
खेलकुद के होइन? के का लागि होइन?
खेलकुद मैदान एउटा क्यानभाष हो । एउटा स्टुडियो हो । एउटा थिअटर हो । मानिसको जीवन लेख्नलाई एउटा सुन्दर पाना हो । एउटा महान पाठशाला हो ।
खेलाडी एउटा त्यस्तो चित्रकार हो जसले प्रांगणको क्यानभाषमा बलको कुचीले जीवनको सुन्दर चित्र बनाउँछ ।
खेलाडी एउटा त्यस्तो कवि हो जसले प्रांगणको पानामा बलको मसीले जीवनको सुन्दर कविता कोर्दछ ।
खेलाडी एउटा त्यस्तो संगीतज्ञ हो जसले प्रांगणको स्टुडियोमा बल र ब्याटको बाजाले सुमधुर संगीतको सिर्जना गर्दछ ।
खेलाडी एउटा त्यस्तो प्राध्यापक हो जसले प्रांगणको विश्वविद्यालयमा दुनियालाई अनुशासन, नैतिकता, सदाचार, प्रेम, करुणा र संस्कारको अमूल्य शिक्षा प्रदान गरिरहन्छ ।
मान्छेले सिर्जना गरेको, आविस्कार गरेको एक अद्भूत कला हो खेलकुद । जब कसैलाई सोधिन्छ, खेलकुद के का लागि हो? प्रायः मानिसहरु जवाफ दिन्छन्ः प्रतिष्पर्धा, जित अथवा पदकका लागि । खेलकुदलाई यी यस्तै अर्थ वा भाव दिने शब्दहरुको संकिर्ण परिधिभित्र राखेर बुझ्नु आफैमा खेल प्रतिको अपमान हो । खेलको इतिहासमाथिको गलत बुझाइ हो ।
कुनै समय थियो, विद्यालयको भवनलाई भन्दा बढी महत्व मैदानलाई दिइन्थ्यो । चारैतिरबाट विद्यालयको भवनले ठूलो पर्खालको काम गर्दथ्यो । र, बिचको प्रांगणमा केटाकेटीहरु खेल्थे, दौडन्थे र उफ्रन्थे । र त एउटा मानिस, वास्तवमै मानिस बन्दथ्यो । यसै भन्नलाई भनिएको होइन, केटाकेटीहरुका लागि मैदान बिनाको विद्यालय भन्दा विद्यालय बिनाको मैदान बढी उपयोगी हुन्छ ।
त्यो जमिन जहाँ बालबालिकाका खुट्टाले धुलो उडाउँथ्यो, त्यही धुलोले नै उनलाई जमीनसँग जोडिन सिकाउँथ्यो । त्यही घाँसले उनीहरूमा जीवनको हरियालीको स्वाद ल्याउँथ्यो । मैदानमा खेल्दै, लड्दै र उठ्दै सिकिएको पाठ पाठशालाको किताबमा भेटिँदैनथ्यो । त्यहाँ सिकिन्थ्यो हार र जितलाई समान रूपमा स्वीकार गर्ने कला, आत्मविश्वास र सहकार्यको महत्व । त्यो भुइँमा ढल्न सिकेकाहरू जीवनका ठूला संघर्षमा पनि सहजै सम्हालिन सक्थे ।
आजभोलि भने सहरका अधिकांश विद्यालयमा खेलमैदान नामको अस्तित्व नै हराउँदैछ । कंक्रिटको पर्खालबीच बन्द कक्षाहरूमा सीमित भएका बालबालिकाहरूको सास फेर्ने ठाउँ हराउँदै गएको छ । ‘विद्यालय’ नाम दिइएका भवनहरू अब परीक्षा दिने केन्द्र मात्रजस्ता बनेका छन्, जहाँ किताब कन्ठ गर्न सिकाइन्छ, तर जीवन बाँच्न सिकाइँदैन । त्यसैले त भनिएको हो, शिक्षा भन्नाले केवल किताब र कक्षा होइन, अनुभव, प्रकृति र शरीरको अभ्यास पनि हो । साँचो अर्थमा ‘शिक्षित’ बन्न, मैदान चाहिन्छ, खुला आकाश चाहिन्छ, जीवनसँग खेल्ने स्पेस चाहिन्छ । नत्र त हाम्रो शिक्षाले केवल डिग्री हात पार्ने, तर जीवनमा असहाय बन्ने पुस्ता उत्पादन गरिरहने छ ।
मैदान केबल भन्नका लागि भनिने पठनपाठनको एक सामान्य हिस्सा होइन, समग्र शिक्षाकै मेरुदण्ड बन्न जरुरी छ । जहाँ धूलो लाग्नु अपमान होइन, अनुभव हो भन्ने बुझुन् विद्यार्थीहरु । जहाँ उनीहरू केवल परीक्षा पास गर्ने होइन, जीवन जिउन सिक्ने बनून् ।
मानव सभ्यताको आरम्भसँगै विकसित हुँदै आएको हो, खेलकुद । यो केवल समय कटाउने माध्यम वा प्रतिस्पर्धाका लागि खेलिने आधुनिक अवधारणा होइन, आरम्भिक समयदेखि नै खेलकुदले मानव जीवनको जटिल पक्षलाई सम्हाल्ने साधनको रूपमा भूमिका निर्वाह गर्दै आएको छ । सुरुवाती मान्छेले आत्मरक्षा गर्न, स्वास्थ्य सुधार गर्न, मनोरञ्जन लिन र सामाजिक सम्बन्ध मजबुत बनाउने उद्देश्यले खेल खेलेको पाइन्छ । त्यो बेला शिकार, पौडी, दौड वा धनुर्विद्या केवल खेल मात्र होइन, जीवन जिउनका अनिवार्य सीप थिए ।
मिश्र र ग्रीसजस्ता प्राचीन सभ्यतामा देखिने कुस्ती, बक्सिङ, भालाफ्याकजस्ता खेल होउन् वा चीनको कुङफु, वुशुजस्ता आत्मरक्षामूलक सीप; ती सबैले मानिसलाई शारीरिक रूपले सक्षम बनाउनुका साथै सामाजिक, मानसिक र सांस्कृतिक समृद्धिको बाटो देखाएका थिए । भारत र नेपालमा विकसित योग, युद्धकला, चतुरङ्ग वा कबड्डीजस्ता खेलले त जीवनदर्शन नै बोकेको पाइन्छ । त्यस्तै मध्यकालीन युरोपमा देखिएका आर्चरी, जौस्टिङ वा आरम्भिक फुटबलजस्ता खेलले राजनीतिक अभ्यास, वीरता प्रदर्शन र नागरिक चेतनाको विकासमा योगदान दिएका थिए ।
आजको दिनमा हाम्रा सामु छन् — क्रिकेट, फुटबल, बास्केटबल, टेबलटेनिस, स्वीमिङ, भलिबल, टायक्वान्दो, जुडो जस्ता आधुनिक प्रतिस्पर्धात्मक खेलहरू । तर ती सबै पनि मानवीय सम्बन्ध, आत्मअनुशासन, सहकार्य, राष्ट्रिय पहिचान र विश्वमैत्रीका प्रतीक बन्दै आएका छन् । खेल भनेको आज कुनै वर्ग वा उमेरको लागि सीमित विषय होइन, सबैका लागि खुला संस्कार हो । यही खेलकुदको शक्तिले आज विश्वलाई एउटा साझा मञ्चमा ल्याएको छ, जहाँ २०० भन्दा बढी देशहरू सहभागी हुने फिफा वल्र्डकप, ओलम्पिक वा एशियन गेम्सजस्ता भव्य आयोजनाहरूले विश्वमैत्री, सहयोग र समर्पणको नयाँ परिभाषा कोरिरहेका छन् ।
खेल जीवनको एक सुन्दर अभ्यास हो, जसले शरीर र मस्तिष्कलाई सबल बनाउँछ । खेलकुदले सीमाना तोड्छ, मन र भाषा जोड्छ, र सिङ्गो मानव सभ्यतालाई एउटा डोरीमा गाँस्ने अद्भुत ऊर्जा दिन्छ । आधुनिक शिक्षाबाट लिएर अन्तर्राष्ट्रिय कूटनीति, राष्ट्रिय एकता र व्यक्तिगत विकाससम्म खेलकुदको स्थान अतुलनीय छ । यही चेतना फैलाउन आज हरेक घर, विद्यालय, संस्था र राष्ट्रले खेललाई जीवनशैलीको अभिन्न अंश बनाउनु आवश्यक भइसकेको छ ।
आजको सन्दर्भमा जब हामी खेलकुदको चर्चा गर्छौं, एक गहिरो प्रश्न अनिवार्य रूपमा उठ्छ, “के खेलकुद केवल प्रतिस्पर्धा हो, वा मानवताको अभिव्यक्ति पनि?”
देखिने रुपमा खेलकुदलाई अंक, गोल, पदक र रेकर्डको मापनले हेर्ने गरिन्छ, तर त्यसको अन्तर्यमा एक विशाल मानवीयता, आत्मीयता र समर्पण लुकेको हुन्छ । हो, खेलकुद प्रतिस्पर्धात्मक छन् तर त्यो प्रतिस्पर्धा केवल जित्ने वा हराउने होइन, आफूलाई पार गर्ने, मनोबलको सीमालाई चुनौती दिने, र कठिनाइलाई जित्ने संघर्षको रूप हो ।
केन्याका धावकहरूको विश्वचर्चित उदाहरण हेरौं । उनीहरूको शारीरिक क्षमताभन्दा बढी सामाजिक सञ्जाल, मिडिया र जनमानसमा उनीहरूको मानवीयता र सरलताका कथा बढी चर्चामा आउँछन् । किनभने उनीहरूले जितलाई भन्दा पनि मानवताको महत्त्वलाई अग्रता दिएका छन् । महान धावक एलियुड किपचोगेले अन्तिम किलोमिटरमा प्रतिस्पर्धालाई जित्न सक्ने अवस्थाका बाबजुद चोटग्रस्त साथीको साथ दिएका थिए । त्यो क्षणमा उनले पदक होइन, मानवीयता रोजे । यही त हो असली विजय, जो पदक पाउँदा होइन, मानव हृदय जित्दा मिल्छ ।
सुसान केमेठको उदाहरण झनै प्रेरणादायी छ । उनी आफैँ अगाडि हिँडिरहेकी थिइन्, तर लडेका प्रतिस्पर्धीलाई उठाएर मात्र अघि बढिन् । खेलकुदमा जित्ने उत्कट चाहनाभन्दा मानवताको सम्मानले उनलाई अगाडि बढायो । उनले विश्वलाई सम्झाइन् कि हामी सबै एक–अर्काको सहयात्री हौं, अनि सहयात्रा बिना गन्तव्यमा पुगिएला पनि, तर त्यो गन्तव्य ‘मानवता’को हुँदैन ।
आजका खेलाडीहरु केवल फिजिकल पर्फमेन्स वा टेक्निकल कौशलका कारण चर्चामा छैनन् । उनीहरु आफ्नो सांस्कृतिक सम्पदा बोकेर हिँडिरहेका छन्, इतिहासका पाना फिर्दै छन्, समाजमा व्याप्त विभेद, गरिबी, हिंसा, नस्लीय विभाजनविरुद्ध आवाज उठाइरहेका छन् । उनीहरु बल, बास्केट, ट्र्याकमा मात्रै सक्रिय छैनन्, उनीहरु शब्द, चेतना र परिवर्तनका प्रतिनिधि पनि हुन् ।
केन्या, इथियोपिया, नेपाल, भारत, अमेरिका, जर्मनी, जापान, जुनसुकै देशका किन नहुन, खेलाडीहरुको मनमा एक साझा धडकन हुन्छ, मानवता र जीवनको रक्षाको । प्रतिस्पर्धा त एउटा रुप हो, तर सार भनेको जीवनलाई अझ असल, न्यायपूर्ण र सामूहिक बनाउने संघर्ष हो । खेलको ‘विजेता’ त केवल एक जना हुन्छ, तर ‘मानवताको विजेता’ सधैँ त्यही हो जो आफ्नो सफलता र प्रसिद्धिलाई संसारको भलाइका लागि प्रयोग गर्छ ।
आजको महत्वपूर्ण अर्को प्रश्न यो कि खास खेलाडीहरु कस्ता हुन्छन्? क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले करौडौं रुपैयाँ दिँदा पनि किन अस्वीकार गर्दछन् कोकाकोला, फास्टफुड अथवा मानव स्वास्थ्य प्रतिकुल विज्ञापनहरु? समकालिन साथीहरु सिगरेटको विज्ञापनमा देखिइरहँदा पनि किन कहिल्यै स्वीकार गरेनन् पेलेले तम्बाकुको विज्ञापनमा आफ्नो भूमिका? आज पनि किन चर्चा चलिरहन्छ चर्चित खेलाडी देखि राष्ट्रपतिसम्म बनेका अफ्रिकाका महान व्यक्तित्व जर्ज वेहको? आफ्नै घरमा पसेको चोरलाई जेल कोच्नुको सट्टामा मोहमद सालाहले किन उसको आर्थिक उद्दार गर्दै जागिरसम्म खोजिदिए? फुटबलले मलाई धेरै दियो, अब म समाजलाई फिर्ता दिन चाहन्छु भन्दै लुकास पोडोल्स्कीले किन आइसक्रिम स्टोर खोलेर निशुल्क बाँडे हुन् बच्चाबच्चीलाई र गरे हुन् करोडौं रकम समुदायलाई सहयोग? सबैसबै प्रश्नहरुको जवाफ हो मानवता र जीवन ।
विविधता बिचको एकताको एक सुत्र हो खेलकुद । खेलकुद मैदान एउटा त्यस्तो मैदान हो जहाँ मानिसहरु आफ्नो जात, भाषा, धर्म, संस्कृति, भूगोल आफैमा सुरक्षित गरेर एक पूर्ण मानवका रुपमा उपस्थित हुन्छन् । नेपालमा पनि त हामी देख्छौ, राजनीतिक दलका नाममा, जातका नाममा, धर्मका नाममा, भूगोलका नाममा चलिरहने युद्ध, वाकयुद्ध, छेंडखानीहरुले पनि विश्राम पाइरहेका हुन्छन् जब चल्छ कुनै बृहत् मैदानमा व्यापक खेलकुद । इतिहास पढ्दा भेटिन्छ, प्रथम विश्युद्ध चलिरहँदा जर्मन र बेलायती सेनाहरुले क्रिसमस ईभमा एक दिनका लागि युद्ध रोकेर नो म्यान्स ल्याण्डमा फुटबल खेलेर विश्लाई शान्तिको ठूलो सन्देश बाँडेका थिए । यो सब सम्भव हुन्छ त खेलले मात्रै हुन्छ ।
व्यक्तिको सर्वाङ्गिण पक्षको विकासमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ । उचाई अनुरुप तौल सन्तुलनमा राख्न खेलकुद अपरिहार्य छ । शरीर र मनमा रहेका विकार तत्वहरुको निस्कासन गर्न व्यक्ति खेलकुदमा सहभागि हुनु अनिवार्य छ ।
शरीर स्वस्थ्य राख्ने पहिलो शर्त खेलकुद हो । विद्धान अरस्तुले भनेका छन्, स्वस्थ्य शरीरमा मात्रै स्वस्थ्य मस्तिष्कको बास हुन्छ । मानसिक रुपमा स्वस्थ्य रहन पनि खेलकुद अनिवार्य छ । मानिसका लागि मोटोपन र डिप्रेशन आजका सबै भन्दा ठूला समस्याहरु बनेका छन् । हामीलाई थाहा छ, आजकोे पर्यावरणीय समस्या र यसले मानव स्वास्थ्यमा पारिरहेको प्रभाव । हामीले उपभोग गर्ने खाद्यान्न स्वस्थ्यकर छैन । यो त छोडौ, पल प्रतिपल हामीले उपभोग गरिरहने हावा बिषाक्त छ, पानी बिषाक्त छ । र, यी सबै समस्याहरुको बिचमा मानवीय स्वास्थको स्तर कस्तो होला? तर यी कम गर्ने, मुक्ति प्राप्ति गर्ने एक उत्तम मार्ग खेलकुद हो
शरीरका विभिन्न अंगहरुको गतिशील प्रयोगबाट गरिने कलात्मक प्रस्तुती खेल हो । यही गतिशीलताले नै मानिसको शरीरका विभिन्न अंगहरुलाई जीवन दिन्छ । एउटा बालकको ओंठमा मुश्कान किन फक्रिरहन्छ? यसको सहज जवाफ छ, बालक हरेक क्षंण चलायमान रहन्छ, गतिशील रहन्छ । नृत्य होस् अथवा योग, यी पनि आफैमा खेल हुन् । यी गतिविधीले मानिसलाई खुशी सिर्जना गर्ने हर्मोन उत्पादनमा महत्वपूर्ण भूमिका खेल्दछन् । मेडिकल साइन्सले पनि प्रमाणित गरिसकेको छ कि बच्चा र बयस्कको खुशीको स्तरमा फरक आउनुको महत्वपूर्ण कारण नै गतिशीलता हो । एउटा बयस्क मानिस बच्चा जस्तै खुशी हुन फेरि बालक बन्न त सम्भव छैन तर खेलकुद, योग र नृत्यलाई जीवनको अभिन्न पक्षका रुपमा अंगाल्न जरुर सक्दछ ।
खेलकुदले व्यक्तिले आचार र विचार निर्माण र निर्धारण गर्नमा महत्वपूर्ण सहयोग गर्दछ । खेलकुद निश्चित नियमहरुमा अनुबन्धित भएर गरिने प्रस्तुती भएका कारण यसले मानिसलाई के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुराको महत्वपूर्ण पाठ पढाउँछ । अँझ यसो भनौ कि खेलकुदले व्यक्तिमा सामाजिक र नैतिक पक्षको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । खेलकुद, आज विश्वव्यापी रुपमा स्वीकार्य छ । मलाई कहिलेंकाहीँ लाग्दछ, खेलकुद मैदानमा खेलाडीहरु जसरी निश्चित आचारसंहिताले बाँधिएका हुन्छन्, त्यसै गरेर हरेक नेताहरु आचारसंहिताले बाँधिए हाम्रो राजनीति र राष्ट्रको स्वास्थ्य कति गज्जव हुँदो हो । कहिलेकाँही म यस्तो पनि सोंच्छु, यो संसार यति बृहत र विशाल भएता पनि खेलकुद मैदानकै जसरी हरेक मानिस आचारसहिंतामा बाँधिदो हो त के मानव जीवन खतरामा पर्दो हो र? संसार एक बगैचा भन्दा कम हुँदो हो र? पक्कै पनि मानवता अज्ञानी र मुर्खहरुको अपहरणमा पर्ने थिएन ।
जीवन चेतनशीलता, सन्तुलन र सामाजिकतालाई आत्मसात् गर्ने यात्रा हो । त्यस यात्रालाई समृद्ध, अनुशासित र सौन्दर्यपूर्ण बनाउन खेलकुद अनिवार्य छ । खेलकुद केवल प्रतिस्पर्धा वा पदक जित्ने अभ्यास मात्र होइन, यो जीवनशैली, चरित्र निर्माण र समुचित व्यवहार विकासको माध्यम हो ।
व्यक्तिको सर्वाङ्गिण विकासका लागि आवश्यक सम्पूर्ण मूल्यहरू अनुशासन, नैतिकता, संयमता, समर्पण, सहकार्य, सहिष्णुता, समवेदनशीलता, करुणा, मानवता, यिनको जग खेलकुदले राखिदिन्छ । मैदानमा खेल खेल्दा मात्र होइन, जीवनको हरेक मोडमा देखिने मानवीय गुणहरू अभ्यासमा उतार्न खेलकुदले सहयोग गर्छ । एक खेलाडी अनुशासित हुन्छ, आत्मविश्वासी हुन्छ, हार स्वीकार्न जान्दछ, फेरि जित्नका लागि प्रयास गर्न जान्दछ, यिनै गुणहरू जीवनका प्रत्येक संघर्षमा आवश्यक हुन्छन् ।