
गुरु पूर्णिमा आयो फेरि,
फूल चढाउने, फोटो हाल्ने,
स्टाटसको सेल्फीमा,
श्रद्धा भन्दै टाँसिने-
तर ज्ञान खोइ?
हेर…
हरेक धर्मका गुरुहरू!
उनैको नाम भजाएर-
चेतनाको हत्या गरियो!
“गुरुर्ब्रह्मा गुरुर्विष्णु” भन्दै
नाच्नेहरूलाई कसैको पत्तै छैन,
उनीहरू जसलाई ईश्वर ठानिए-
उनीहरूले वेदहरू लेखेनन्,
उनीहरू सञ्चय मात्रै थिए।
ब्रह्मा कहाँ छन्? वैज्ञानिक प्रमाण खोइ?
गुरु ‘श्रुति’ थोपरेर
समाजमा जात बनायो,
एकले पढ्ने, अर्कोले पुच्छर समाउने-
यो धर्मको नाममा भएको वैदिक व्यापार !
बुद्धले त भने-
“अप्प दीपो भव”
तर,
अहिलेका गुरुहरू भिक्षु होइनन्,
राजा बनेका छन्, गज-घोडा चढेका छन्।
ती बुद्धका नाममा मूर्ति बेच्छन्,
र गुफाभित्र सुतिरहेका विवेकमा फूल चढाउँछन्।
बुद्धको प्रतिमा ठूलो छ,
तर उहाँको शिक्षा?
सुटुक्क लुकेको छ पर्यटन बोर्डको पम्फलेटमा!
मौलाना गुरु?
‘किताब नै अन्तिम सत्य’ भन्ने भनाइले,
प्रश्न गर्न खोज्नेहरूको घाँटी समातेको छ!
‘अल्लाहले भनेको’ भनी विज्ञान र तर्कलाई चुप लगाइयो,
तर गुरुत्व बलको कुरा गर्दा-
कुरान चुप, अन्तरिक्ष खुला!
पादरीको मुस्कानभित्र लुकेको छ व्यापार,
‘यीशुले तिमीका पाप धोए’ भन्दै,
करुणाको खोल ओढेर पापकै साम्राज्य चलाउँछन्।
शिक्षा होइन,
अन्धभक्त बनाउने मिसन हो त्यो!
गुरु पूर्णिमा भन्ने दिन-
ढोगको मेसो हो!
फूल चढाउने,
घुँडा टेक्ने,
चरण पखाल्ने,
फोटो हाल्ने-
तर प्रश्न लुकाउने!
शिष्य बन्नु त चुलो बाल्ने कुरा भयो!
गुरु बन्नु भनेको आगोको राप बुझ्ने कुरा हो!
तर,
आज त आगो थन्किएको छ-
खरानी छ,
धुवाँ छ,
र तिनैमा लपेटिएको छ
‘शुभकामना’।
श्रद्धाले होइन,
सन्देहले बनाउँछ विवेक।
आस्थाले होइन,
अन्वेषणले उजागर गर्छ सत्य!
आजको दिन-
गुरु होइन,
प्रश्नहरूको पूजा गर!
मूर्ति होइन,
चेतनाको दीप जलाऊ!
धर्म होइन,
तर्कको किताब पढ!
कुनै गुरुको होइन,
आफ्नो विवेक नै अन्तिम शरण हो!