सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर आज विहान पौने ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी २ जना पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले बताए।
घाइते १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। १२ जनाको अवस्था मध्यम र १ जनाको सामान्य छ। घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा ल्याइएका १५ जनामध्ये २ जना पुरुषको मृत्यु भएको हो। १ जनाको अवस्था गम्भीर र १२ जना मध्यम अवस्थामा रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै, जिल्ला अस्पताल इनरुवामा ल्याइएका ५ जनामध्ये १ जना महिलाको मृत्यु भएको, ३ जनालाई थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा रेफर गरिएको र १ जनाको सोही अस्पतालमा सामान्य उपचार भइरहेको छ।