पाण्डेकाे मृत्युमा स्मरण सभा सम्पन्न

३ वैशाख, चितवन

बुधबार भौतिकवादी समाज नेपाल चितवन जिल्ला समिति तथा दिवाकर बालग्रामको संयुक्त आयोजनामा कृतिशेष दिवस पाण्डेको सातौं दिनमा स्मरण तथा समवेदना सभा कालिका नगरपालिका पदमपुर लामाचोकमा सम्पन्न भएको छ।

दिवाकर बालग्रामको संस्थापक अध्यक्ष अन्जना विसंखेको अध्यक्षतामा सम्पन्न भएको स्मरण तथा समवेदना कार्यक्रमको सञ्चालन भौतिकवादी समाज नेपालका चितवन जिल्ला समिति अध्यक्ष तथा केन्द्रीय समिति सदस्य ओमनाथ पाण्डेले गर्नुभएको थियो।

कार्यक्रममा भौतिकवादी समाज नेपालका केन्द्रीय सल्लाहकार तथा दिवाकर बालग्रामको सन्देश पाण्डेले कृति शेष दिवस पाण्डेको जन्मदेखि मृत्युसम्मको राजनीतिक , सामाजिक लगायतका सम्पूर्ण गतिविधिहरु सहभागीहरु समक्ष राख्दै उहाँ निकै प्रतिभावान, लडाकु, जोशिलो, निष्ठावान तथा लगनशील, सङ्घर्षशील व्यक्तित्व हुनुहुन्थ्यो र उहाँको निधनले यो आन्दोलनमा अपुरणीय क्षति भएको बताउनुभएको थियो।

त्यसैगरी भौतिकवादी समाज नेपालका केन्द्रीय अध्यक्ष वैद्यनाथ शर्माजीवीले हाम्रो समाजमा मान्छे मरेपछि फुल चढाउने, अविर चढाउने, तिनको गुणगान गर्ने चलन पुरानै हो। तर त्यही मान्छे जीवित हुँदा तिनीसँग डाहा गर्ने, तिनको ख्याल नगर्ने, ईर्ष्या गर्ने जस्ता व्यवहारको बारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभएको थियो । मृत्यु पश्चात् हामीले दिने सम्मान जीवितै छदा दिँदा त्यो व्यक्ति कति खुसी हुन्थ्यो होला ? त्यसैले अब हामी एक अर्कोलाई जिउँदैमा सम्मान गरौं। आवश्यक आलोचना पनि गरौं र आवश्यक सम्मान पनि गरौं। सबै प्रकारको अन्धविश्वासबाट मुक्त हौ । यो संसारमा कुनै स्वर्ग नर्क छैन। हामी सबैलाई थाहा छ स्वर्ग निकै राम्रो भनेर वर्णन गरिएको छ। तर कोही पनि स्वर्ग जान तयार छैनन्। अलिकता टाउको दुख्ने बित्तिकै औषधि खोजिहाल्छ। किन त ? स्वर्ग राम्रो छ भने औषधि किन खाने ? स्वर्ग नै जानलाई हतार गरौँ , बाँच्नलाई हतार किन ? जिउँदा मानिसहरू स्वर्ग जान सक्दैनन्। मरेका हरू स्वर्गबाट कहिले फर्केर आएका छैनन्। यस्तोमा कसले देख्यो स्वर्ग छ ? कसरी थाहा पायो ? र धार्मिक ग्रन्थहरुमा लेखियो ? यसबाट यो प्रष्ट हुन्छ कि यो सबै कुराहरु मनगढन्त हुन् केवल ठगी खाने कल्पना हुन् । यस्ता कुराहरूबाट हामी जोगिनुपर्छ। अब पनि हामीले कृति शेष भएका हाम्रा दाजुभाई, साथी, बुवाआमाहरूलाई स्वर्गमा दुध खानको लागि गाई दान गर्नुपर्ने, पानीबाट नभिजोस् , घामले नसेकोस् भनेर छाता दान गर्नुपर्ने, खुट्टामा घाउचोट नलागोस् भन्दै जुत्ता दान गर्नुपर्ने, खाट पलंग सुत्नलाई दिनुपर्ने, यस्ता बकवासपूर्ण कुराहरुमा लाग्नु हुँदैन । यो सबै ठगीधण्डा हो। केही खास व्यक्तिहरूको
जीविकोपार्जनको धर्मधन्धा भएको छ। हामीले यो बुझ्न जरुरी छ। वास्तवमा दिवस पाण्डेलाई सम्मान गर्ने हो भने आजैको मितिबाट हामीले संकल्प गर्नुपर्छ भौतिकवादी सर्वप्रथम आफै भौतिकवादी बन्ने र त्यसपछि अरूलाई बनाउने । यो समाजलाई अन्धविश्वासबाट मुक्त पारौँ – बताउनुभएको थियो।

त्यसैगरी दिवाकर बालग्रामका संस्थापक तथा आधारशिलाका संस्थापक गिरिराजमणि पोखरेलले सोही अवसरमा अब राजनीतिक पार्टीहरूले पनि खासगरी कम्युनिष्ट पार्टीहरुले पनि आत्म चिन्तन गर्न जरुरी छ र समाज परिवर्तनको काममा जुन भौतिकवादी समाज संगठित रूपमा लागेको छ यसमा हामीले पनि होस्टेमा हैस्य गरेर अगाडि बढ्न जरुरी छ। अनि मात्रै दिवस पाण्डे प्रति सच्चा सम्मान व्यक्त हुनेछ भन्नुभयो।

कार्यक्रमको अन्तमा अध्यक्ष विसंख्यले कृतिशेष दिवस पाण्डे को विचारलाई हामीले व्यवहारमा कार्यान्वयन गरे उहाँ हाम्रो मुटुमा बाँचि राख्ने उद्गार व्यक्त गर्दै सभा विसर्जन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation