
२ जेठ, दाङ
संजीवनी टिचिङ हस्पिटलको प्राविधिक सहयोग तथा शान्तिनगर गाउँपालिकाको संयुक्त आयोजनामा गाउँपालिका–५ बैसास्थित सभाहलमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ६०५ जना स्थानीय लाभान्वित भएका छन् ।
शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श, भिडियो एक्स–रे, ल्याब परीक्षण तथा औषधि सेवा निःशुल्क प्रदान गरिएको थियो ।
शिविर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउनु महत्वपूर्ण सामाजिक कार्य भएको बताएका छन् । जनताकाे सहज, सुलभ र गुणस्तरीय उपचारमा अस्पताल निरन्तर अघि बढे सफलता प्राप्त गर्ने विश्वास उनले व्यक्त गरे ।
उनले गाउँमै विशेषज्ञ चिकित्सकबाट उपचार सेवा पाउँदा स्थानीय नागरिकलाई ठूलो राहत मिलेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज उपचार उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिए ।
राेकाले शिविरमार्फत प्रारम्भिक रोग पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि र आवश्यक बिरामीलाई थप उपचारका लागि प्रेषण (परामर्श) सेवा समेत प्रदान गरिएको छ ।
उनलेे शिविरमा उपचार गराएका बिरामीलाई अस्पतालमा थप उपचार आवश्यक परे औषधिबाहेक अन्य सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको पनि बताएका छन् ।
शिविर प्रमुख तथा अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. बाचसपति सुवेदीले जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति, बालरोग, जनरल सर्जरी तथा नाक–कान–घाँटी सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको जानकारी दिए । उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य परीक्षणप्रति जनचेतना बढ्दै गएको भन्दै यस्ता शिविरले समयमै रोग पहिचान गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो















