अमृत झा अझै इरानमै थुनामा, गलत सूचना दिएको भन्दै मन्त्रालयले माग्यो माफी

४ जेठ, काठमाडौं

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ । उनको रिहाइ भइनसकेको स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्योलप्रति क्षमा मागेको हो ।

मन्त्रालयले आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै झा हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामै रहेको र उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका, इजरायल र इरानबीच गत फेब्रुअरी २८ मा द्वन्द्व सुरु हुनुभन्दा अगावै जनवरीको सुरुमा झासहित अन्य ६ जना विदेशी नागरिकहरूलाई इरानी सुरक्षाकर्मीले क्युसिएम टापुबाट नियन्त्रणमा लिएका थिए।

यसअघि गत अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम सान्तीयले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको र उनको रिहाइ पत्र जारी भइसकेको भनी अनौपचारिक सूचना पठाएका थिए।

सोही सूचनाका आधारमा तत्कालीन जनचासो, सञ्चार माध्यमको सोधपुछ र परिवारको चासोलाई सम्बोधन गर्न मन्त्रालयले झा रिहा भएको विज्ञप्ति जारी गरेको थियो भने परराष्ट्र मन्त्रीले समेत सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेका थिए।

तर, त्यसको केही दिनपछि प्राप्त विवरणअनुसार अदालतले उक्त मुद्दामा विशेषज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएकाले झा रिहा नभएको तथ्य खुलेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले उपलब्ध गराएको पछिल्लो जानकारीअनुसार गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने अन्तिम तयारी गरिरहेको छ।

इरानको स्थानीय अदालतमा विचाराधीन मुद्दाको निरूपण त्यहाँकै कानुनअनुसार हुने भए पनि झाको निष्पक्ष सुनुवाइ र कानुनी प्रतिरक्षाका लागि उपलब्ध सबै माध्यमहरूको प्रयोग गरी निरन्तर कूटनीतिक पहल जारी राखिएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ।

यस कूटनीतिक अन्योल र त्यसबाट परेको असुविधाप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले झाका परिवारलाई मन्त्रालयमै बोलाएर यथार्थ तथ्यबारे जानकारी गराइसकेको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation