
काठमाडौं, जेठ १४ ।
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार तथा स्वतन्त्र सञ्चारमाध्यमहरूको अस्तित्वमाथि बढ्दो दबाबप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सम्पूर्ण सञ्चारमाध्यमलाई जेठ १४ गते सम्पादकीय वा उपयुक्त स्थानमा कालो रङ राखेर ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा सरकारले सञ्चारमाध्यममाथि निगरानी बढाउने, समाचार संकलनमा अवरोध सिर्जना गर्ने तथा विज्ञापन वितरणमा विभेदपूर्ण नीति अवलम्बन गरेको आरोप लगाएको छ। विशेषगरी सरकारी सूचना तथा विज्ञापन राज्यनियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यम र श्रमजीवी पत्रकारहरूको पेशागत सुरक्षामा गम्भीर चुनौती थपिएको महासंघको भनाइ छ।
उक्त निर्णयको विरोध गर्दै महासंघले चरणबद्ध दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको जनाएको छ। आन्दोलनलाई प्रभावकारी बनाउन देशभरका सञ्चारमाध्यमलाई कालो रङ राखेर प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको पक्षमा ऐक्यबद्धता प्रदर्शन गर्न आग्रह गरिएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा यस अभियानमा साथ र समर्थन जनाउने सम्पूर्ण सञ्चारमाध्यम तथा पत्रकारहरूप्रति आभार व्यक्त गर्दै प्रेस स्वतन्त्रताको रक्षा सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ।

















