गणतन्त्र नेपाली जनताको साझा उपलब्धि हो : प्रचण्ड

१५ जेठ, काठमाडौं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक मतभेद भए पनि राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्यलाई संस्कार बनाउनुपर्ने बताएका छन् ।

आज गणतन्त्र दिवस २०८३ को अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले सो धारणा राखेका हुन् । ‘हामीबीच राजनीतिक मतभेद हुनसक्छन्, संसदीय परिपाटीमा संख्यात्मक अंकगणित फरक हुनसक्छ, तर राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ,’ उनले लेखेका छन् ।

संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा पहिलो जिम्मेवारी भएको भन्दै उनले परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहनुपर्नेमा जोड दिएका छन् । उनले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट बन्न आह्वान पनि गरेका छन् ।

आज देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच एकतामा जोड दिँदै उनले भनेका छन्, ‘सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण गर्नु हाम्रो साझा राष्ट्रिय संकल्प हो ।’

नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं शहीदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो भन्दै प्रचण्डले यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको बताएका छन् ।

तसर्थ, संविधानको मूल मर्मबाट पछि हट्ने वा यसका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको उनको धारणा छ ।

बरु उनले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै, राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नुपर्ने जनाएका छन् ।

‘जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो । गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation