राजमार्गमा होहल्ला गर्ने २५ युवा २१ मोटरसाइकलसहित नियन्त्रणमा

१८ जेठ, सिरहा

सामाजिक सञ्जालमा विभिन्न ग्याङ् तथा समूहको नाम प्रयोग गरी धम्कीयुक्त तथा अशान्ति फैलाएको आरोपमा प्रहरीले २५ जना युवालाई २१ थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार ‘किङ अफ बलान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’लगायतका नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमार्फत समूह निर्माण गरी गालीगलौज, धम्की तथा उच्छृङ्खल गतिविधि प्रदर्शन गर्ने गरेका थिए ।

प्रहरीका अनुसार ती युवाहरूले बिना हेल्मेट, आवश्यक कागजपत्रविनाका तथा नम्बर प्लेट नभएका मोटरसाइकल प्रयोग गर्दै राजमार्गमा होहल्ला गर्ने, एकै मोटरसाइकलमा तीनदेखि चार जनासम्म सवार हुने तथा ट्राफिक नियमको खुला उल्लङ्घन गरी सामाजिक शान्ति भङ्ग गर्ने गतिविधि गर्दै आएका थिए ।

यसै क्रममा सिरहा–चोहर्वा सडक खण्डमा प्रहरीले सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा उक्त समूहका युवाहरू फेला परेका हुन् ।

नियन्त्रणमा लिइएकामध्ये सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना तथा भगवानपुर गाउँपालिकाका ५ जना रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट २१ थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका युवाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पालले जानकारी दिए ।

प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भय, त्रास र असुरक्षा फैलाउने तथा सार्वजनिक शान्ति खल्बल्याउने गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ । यस्ता गतिविधि दोहोरिए कानुनबमोजिम कडा कारबाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation