आत्मदाह प्रकरण : सरकार र पीडितबीच ९ बुँदे सहमति

आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार तथा स्थानीय तह र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको सहमतिमा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले गठन भएको सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन पेश गर्ने बताइएको छ।

सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा आवश्यक निर्णय प्रक्रिया अघि बढाउने पनि उल्लेख गरिएको छ।

साथै घटनाका दिन फिल्डमा खटिएका काठमाडौँ महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदनअनुसार थप कारबाही गरिने सहमति भएको छ।

पीडित परिवारलाई राहतस्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा काठमाडौँ महानगरपालिकामा रोजगारी उपलब्ध गराउने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यवस्थापन गरिने उल्लेख छ। यस्तैआगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमतिमा उल्लेख छ।

यस्तै अन्तिम संस्कारको सम्पूर्ण व्यवस्था, आफन्तको यातायात तथा काठमाडौँ बसाइ खर्च, शव बुझ्ने र पोस्टमार्टमलगायत कानुनी प्रक्रिया सहज बनाउने सहमति भएको छ। यस्तै परिवारका एकाघरका सदस्यको स्वास्थ्य बीमाको व्यवस्था गर्ने विषयमा पनि सरकार र महानगरले जिम्मेवारी लिने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation