Pranmancha

Advertisment

SKIP THIS

यो सरकार लामो समय टिक्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लामो समयसम्म नजाने दोहोर्‍याएका छन् । यद्यपि, माओवादीको ध्यान अहिले सरकारमा जाने नभएको उनको दावी भनाइ छ ।

सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले अवैध ढंगले सरकार जन्मिएकाले पनि यो सरकार धेरै लामो समयसम्म नजाने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पछिल्ला दिन कांग्रेस–एमाले नेतृत्वको सरकार लामो समय नचल्ने बताउँदै आएका छन् ।

‘यो सरकारको जन्म नै अवैध ढंगले भएको छ,’ उनले भने, ‘सरकार लोकतान्त्रिक मान्यताविपरीत छ । संविधान र जनताको भावनाविपरीत छ । त्यसैले सुरुदेखि नै मैले भन्दै आएको छु यो धेरै लामो जानेवाला छैन ।’

केही दिनअघि भरतपुर विमानस्थलमा कांग्रेस नेताहरूमा डा. शशांक कोइराला र डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर पनि प्रचण्डले सरकार लामो समय नजाने बताएका थिए ।

सरकारको जन्म नै संविधान र जनताको भावनाविपरीत रहेकाले सरकार लामो समय नचल्ने प्रचण्डले दावी गरेका छन् ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी एमालेभित्र पनि निकै ठूलो उकुसमुकुस देखिएको दावी गर्दै सरकार सामान्य ढंगले नभई जबरजस्ती चलाइएको जिकिर गरे ।

माओवादीको ध्यान अहिले सरकारतर्फ नभई जनतातर्फ केन्द्रित रहेको उनले दावी गरे । ‘सरकार ढाल्नका लागि सक्रिय भूमिकामा छैनौँ । विपक्षी भूमिका नै अहिलेलाई ठीक छ,’ अध्यक्ष प्रचण्डले भने ।

यो सरकार पनि चल्दैन र माओवादी केन्द्र पनि सरकारमा जाँदैन । त्यसपछि के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा भने उनले त्यस्तो अवस्था आए सत्ता साझेदार बन्न सक्ने स्पष्ट पारे । ‘शशांकजी र चन्द्रजीसँग भनेको जस्तै हुन्छ, साझेदारी त हुन सक्छ,।’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation