उद्यममा जोड्ने उद्देश्यले कुसन-डल बनाउने तालिम सारीमा

१ असार, प्युठान

सामाजिक विकास डिभिजन कार्यालय प्युठानको आर्थिक सहयोग तथा स्वर्गद्वारी नगरपालिका–५ वडा कार्यालयको सहजीकरणमा सञ्चालन गरिएको १० दिने कुसन तथा डल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ । जेष्ठ २१ गतेदेखि सुरु भएको सीप तथा क्षमता विकास तालिम वडाले अतिरिक्त ४ दिन थपेसँगै असार ४ गतेसम्म चल्ने स्वर्गद्वारी नगरपालिका ५ का वडा अध्यक्ष गिरबहादुर घर्तीले बताएका छन् ।

समुदायमा उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त तालिममा वडाभित्रका महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गर्दै स्वरोजगार तथा आत्मनिर्भर बन्न प्रेरित गर्नु रहेको सामाजिक विकास डिभिजन कार्यालयका इन्जिनियर एवं् कार्यक्रम संयोजक पारस भण्डारीले बताएका छन्।

तालिम अवधिभर सहभागीहरूले कुसन तथा डल निर्माणसम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका थिए। तालिमबाट प्राप्त सीपले घरमै बसेर आयआर्जन गर्न सकिने तथा साना घरेलु उद्योग सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले यस्ता सीपमूलक तालिमहरूले महिलाहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतारेर स्वरोजगार र उद्यमशीलतामा अगाडि बढ्न सहभागीहरूलाई आग्रह गरेका छन् ।

तालिममा सहभागी महिलाहरूले तालिमको अवधि छोटो भएको भन्दै अझ थप सीप सिक्नका लागि समय बढाउन माग गरेका थिए। सहभागीहरूको मागलाई सकारात्मक रूपमा ग्रहण गर्दै वडा कार्यालयले थप ४ दिन तालिम सञ्चालन गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष गिरबहादुर घर्ती मगर रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन हरि भण्डारी ले गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य अम्बिका सुनार, कार्यक्रम संयोजक तथा इन्जिनियर पारस भण्डारी र इन्जिनियर विनोद पाण्डे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका वक्ताहरूले महिलाहरूलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन यस्ता सीपमूलक तथा उत्पादनमुखी तालिमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले पनि तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी घरेलु उद्यम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्वर्गद्वारी नगरपालिका–५ मा सञ्चालन गरिएको यो तालिम सीप हस्तान्तरण मात्र नभई महिलाहरूलाई आत्मनिर्भर, उद्यमशील र आर्थिक रूपमा सशक्त बनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। थप ४ दिनको तालिम सञ्चालन गर्ने निर्णयले सहभागीहरूको उत्साह बढाएको छ भने स्थानीय तहबाट महिलामैत्री तथा उत्पादनमुखी कार्यक्रमप्रतिको प्रतिबद्धता समेत स्पष्ट देखिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation