१२ साउन, धनकुटा
तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटारमा ट्रक दुर्घटना भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
विराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोपावर आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक सोमबार राति सडकमा पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्रकमा लागेको आगोमा परेर एक जनाको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारले जानकारी दिए । प्रहरीले मृतक चालक नै हुन् वा अन्य व्यक्ति भन्ने औपचारिक पुष्टि गरिसकेको छैन । मृतकको नाम, थर र ठेगाना पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फलामेटारबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । साथै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट जिल्ला प्रहरी प्रमुख रञ्जितकारको नेतृत्वमा थप प्रहरी टोली पनि खटिएको थियो ।

















