
आजको नेपाली समाजलाई बाहिरबाट हेर्दा सबै कुरा अगाडि बढेजस्तो देखिन्छ। सहरहरू फैलिएका छन्। गाउँमा सडक पुगेका छन्। युवाहरू विदेश गएका छन्। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले संसारलाई हातको पर्दामा ल्याइदिएको छ।
तर यही समाजको भित्री तहमा गएर हेर्ने हो भने मानिसहरू पहिलेभन्दा धेरै बेचैन, चिन्तित र थाकेका देखिन्छन्। अनुहारमा हाँसो छ, तर मनभित्र शान्ति छैन। परिवार सँगै बसेका छन्, तर सम्बन्धहरू टाढिँदै गएका छन्। पैसा बढेको छ, तर सन्तुष्टि घट्दै गएको छ।
आज मानिससँग समय छैन। बिहान उठेदेखि राति नसुतुन्जेलसम्म दौडधुप छ। कसैलाई पदको चिन्ता छ, कसैलाई प्रतिष्ठाको। कसैलाई ऋणको बोझले थिचेको छ भने कसैलाई तुलना र प्रतिस्पर्धाले। विद्यालयमा विद्यार्थी तनावमा छन्। अभिभावक असुरक्षाको मानसिकतामा बाँचिरहेका छन्। कर्मचारी दबाबमा छन्। किसान भविष्यप्रति अन्योलमा छन्। युवाहरू असफलताको डरले मानसिक रूपमा कमजोर बन्दै गएका छन्।
यही बेला खप्तडबाबाले लेख्नुभएको “विचार विज्ञान” जस्तो पुस्तकले मानिसलाई बाहिरी दुनियाँभन्दा पहिले आफ्नै मनभित्र फर्किन सिकाउँछ। यो पुस्तक केवल धार्मिक उपदेश मात्र होइन, जीवनलाई बुझ्ने गहिरो अभ्यास हो। मानिस किन अशान्त हुन्छ, किन असफल बन्छ, किन बारम्बार दुःख दोहोरिन्छ र त्यसबाट मुक्त हुने बाटो के हो भन्ने प्रश्नको सरल तर गहिरो उत्तर यस पुस्तकले दिएको अनुभूति हुन्छ।
खप्तडले विचारलाई मानिसको सबैभन्दा ठूलो शक्ति मानेका छन्। संसारका हरेक कामको सुरुवात विचारबाट हुन्छ। मानिसले जस्तो सोच्दछ, बिस्तारै उस्तै बन्दै जान्छ। यही कारणले उहाँले मनमा आउने प्रत्येक विचारलाई वाणसरह भन्नुभएको छ। किनकि विचारले या त जीवन निर्माण गर्छ, या जीवन बिगार्छ।
आज समाजमा धेरै मानिस बाहिरी कारणलाई दोष दिन्छन्। परिस्थिति, सरकार, परिवार, समाज, भाग्य र ग्रहदशालाई दोष दिन्छन्। तर आफ्नो सोच, व्यवहार र मानसिकताको समीक्षा गर्न चाहँदैनन्। “विचार विज्ञान” को सबैभन्दा ठूलो शक्ति यहीँ छ कि यसले मानिसलाई आफ्नै मनसँग साक्षात्कार गराउँछ।
मानिसको जीवनमा काम, क्रोध, लोभ, मोह, ईर्ष्या र वासनाले कति ठूलो प्रभाव पार्दछ भन्ने कुरा आजको समाजमा स्पष्ट देख्न सकिन्छ। रिसका कारण सम्बन्धहरू टुटेका छन्। लोभका कारण भ्रष्टाचार बढेको छ। ईर्ष्याले मानिसलाई असन्तुष्ट बनाएको छ। मोहले विवेक हराउँदै लगेको छ।
सामाजिक सञ्जालले तुलना झन् तीव्र बनाइदिएको छ। अरूको सफलताको तस्वीर हेरेर आफूलाई असफल ठान्ने मानसिकता बढेको छ। मानिसले अरूको सुख देख्न नसक्ने अवस्था सिर्जना हुँदै गएको छ।
खप्तडबाबा भन्छन्, “इन्द्रियलाई वशमा राख्न नसक्ने मानिसले शान्ति पाउन सक्दैन।” आज यही कुरा सबैभन्दा बढी सान्दर्भिक देखिन्छ। मानिसले आफ्ना चाहनालाई नियन्त्रण गर्न नसक्दा जीवन असन्तुलित बनेको छ। शरीर थाकेको छ, मन बिथोलिएको छ र सोच नकारात्मक बन्दै गएको छ।
“विचार विज्ञान” ले एउटा अत्यन्त महत्वपूर्ण कुरा उठाएको छ—जड वस्तुभन्दा चेतन र सूक्ष्म वस्तुमा गहिरो शक्ति हुन्छ। आज मानिसले घर, गाडी, धन, सुविधा र भौतिक वस्तुलाई नै सफलताको मापन बनाएको छ। तर मनभित्रको शान्ति, आत्मिक बल र सकारात्मक सोच कमजोर हुँदै गएको छ।
परिणामस्वरूप मानिस बाहिर सम्पन्न देखिए पनि भित्रबाट खाली महसुस गरिरहेको छ। यो पुस्तक पढ्दा लाग्छ, मानिसको वास्तविक युद्ध बाहिरी दुनियाँसँग होइन, आफ्नै विचारसँग हो।
नराम्रा विचारलाई हटाएर राम्रा विचार बसाल्न सक्नु नै जीवनको ठूलो साधना हो। खप्तडबाबाले भनेझैँ राम्रा विचारहरूले नराम्रा विचारलाई विस्थापित गर्दै जाँदा दिमाग बिस्तारै राम्रो कुराको कारखाना बन्न थाल्छ।
तर राम्रो सोच केवल इच्छा गरेर मात्र आउँदैन। त्यसका लागि आहार, विहार र विचार सन्तुलित हुनुपर्छ। आजको समाजमा यही सन्तुलन हराउँदै गएको छ। मानिसले खानपानमा ध्यान दिएको छैन। दिनचर्या अस्तव्यस्त छ। निद्रा अपुग छ। शरीरलाई विश्राम छैन। मनलाई मौनता छैन।
हामीले आज धेरै कुरा सिक्यौँ, तर आफूसँग बस्न सिकेनौँ। हामीले संसारलाई चिन्न खोज्यौँ, तर आफ्नै मन बुझ्न सकेनौँ। यही कारणले मानिसहरू भीडमा पनि एक्लोपन महसुस गरिरहेका छन्।
खप्तडबाबाको अर्को महत्वपूर्ण शिक्षा भनेको एकाग्रता र शान्तिको शक्ति हो। आजको मानिसको ध्यान एक ठाउँमा टिक्दैन। मोबाइल, सूचना र व्यस्तताले मनलाई टुक्राटुक्रा बनाइदिएको छ। एक मिनेट पनि मौन बस्न नसक्ने अवस्था छ।
यस्तो अवस्थामा मानिसले ठूलो निर्णय कसरी सही गर्न सक्छ?
जब मानिस आफ्नो मुख्य विचारलाई दृढतापूर्वक टिकाइराख्न सक्दैन, ऊ पेन्डुलमझैँ डगमगाइरहन्छ—कहिले उत्साह, कहिले निराशा; कहिले आशा, कहिले भय। यही अस्थिरताले मानसिक अशान्ति बढाएको छ।
आज नेपालमा तनाव, चिन्ता र मानसिक समस्या तीव्र रूपमा बढिरहेको विषयलाई अब लुकाएर बस्न मिल्दैन। गाउँदेखि सहरसम्म मानिसहरू मानसिक रूपमा थाकेका छन्। तर अझै पनि मानसिक स्वास्थ्यलाई गम्भीर रूपमा लिने संस्कार पर्याप्त रूपमा विकास हुन सकेको छैन।
“विचार विज्ञान” ले एउटा गहिरो सत्य सम्झाउँछ—मानिसले सही ढङ्गले सोच्न सुरु गर्यो भने भाग्य पनि उसको कठपुतली बन्न सक्छ। यो कुरा सुन्दा दार्शनिक लाग्न सक्छ, तर व्यवहारमा यसको अर्थ स्पष्ट छ।
सकारात्मक सोचले मानिसलाई कर्मशील बनाउँछ। अनुशासित बनाउँछ। धैर्यवान बनाउँछ। परिणामस्वरूप उसले आफ्नो जीवनलाई क्रमशः राम्रो दिशातर्फ लैजान थाल्छ।
हामीले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने जुन कुरामा मानिसले बारम्बार ध्यान दिन्छ, बिस्तारै ऊ त्यतैतिर आकर्षित हुन थाल्छ। यदि दिनभर नकारात्मक कुरा सोचियो भने मन पनि त्यस्तै बन्छ। यदि आशा, साहस र सकारात्मक सम्भावनामा ध्यान केन्द्रित गरियो भने जीवनप्रतिको दृष्टिकोण नै बदलिन थाल्छ।
खप्तडबाबाले मानिस पूर्ण हुनकै लागि बनेको हो भन्नुभएको छ। तर मानिस आफ्नै भूलका कारण दुःख भोगिरहेको छ। वास्तवमा आजको समाजका धेरै पीडाहरू बाहिरी अभावभन्दा भित्री असन्तुलनबाट जन्मिएका देखिन्छन्।
आज मानिससँग सुविधा धेरै छन्, तर सहनशीलता कम छ। सम्पर्क धेरै छन्, तर आत्मीयता कम छ। मनोरञ्जनका साधन धेरै छन्, तर मनको आनन्द हराएको छ। यही सन्दर्भमा “विचार विज्ञान” केवल पुस्तक होइन, आत्मसमीक्षाको दर्पण बनेर उभिन्छ।
बिदाको दिनमा धेरै मानिस घुमफिर, रमाइलो वा सामाजिक सञ्जालमै समय बिताउँछन्। तर कहिलेकाहीँ एउटा राम्रो पुस्तकले पनि जीवनलाई नयाँ दृष्टि दिन सक्छ। “विचार विज्ञान” पढ्दा अनुभूति हुन्छ कि मानिसले दिनको केही समय आफूसँग संवाद गर्न जरुरी छ।
आजको युगमा पद, पैसा, प्रतिष्ठा र विलासिताभन्दा पनि मानिसलाई मानसिक शान्ति बढी आवश्यक छ। यदि मन शान्त छैन भने बाहिरी उपलब्धिको अर्थ धेरै समय टिक्दैन।
त्यसैले अब समाजले सोच बदल्न आवश्यक छ। सरल जीवन, सन्तुलित विचार, संयमित व्यवहार र आत्मिक अनुशासनतर्फ फर्कन जरुरी छ। परिवारभित्र संवाद बढाउनुपर्छ। बालबालिकालाई केवल अंकको दौड होइन, सकारात्मक सोच पनि सिकाउनुपर्छ। विद्यालयले केवल पाठ्यपुस्तक होइन, जीवनबोध पनि दिनुपर्छ।
खप्तडबाबाको “विचार विज्ञान” यस्तै समयका लागि आवश्यक पुस्तक हो। यसले मानिसलाई डर होइन, आत्मबल सिकाउँछ। निराशा होइन, सम्भावना देखाउँछ। भाग्यवाद होइन, विचारको शक्ति बुझाउँछ।
आज समाजलाई सबैभन्दा बढी आवश्यक कुरा नै यही हो कि मानिस फेरि आफ्नो मनभित्र फर्कियोस्। आफ्नो सोचलाई पहिचान गरोस्। नकारात्मकताको भीडबाट बाहिर निस्कियोस्।
किनभने अन्ततः जीवनलाई सुखी वा दुःखी बनाउने बाहिरी संसारभन्दा पनि मानिसको आफ्नै विचार हो।
















